नौ राजनितिक दलद्धारा निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्ने प्रतिवद्धता

सुर्खेत । कर्णालीका राजनितिक दलहरुले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन । सेभ द चिल्ड्रेनको सहयोगमा बाल अधिकारका लागि साझा अभियान (सीसीआर) ले प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको निर्वाचन र बालबालिकाको सवाल विषयक राजनितिक दल र नागरिक समाजबिचको अन्तरक्रिया कार्यक्रममा सहभागी नौ राजनितिक दलहरुले आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जनाएका हुन् ।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र), एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल स्वतन्त्र पार्टी लगायतले बालअधिकार हनन नगर्ने सामुहिक प्रतिवद्धता जनाएका हुन ।

उनीहरुले बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन भन्ने अवधाराणालाई आत्मसाथ गर्दै विद्यालयमा राजनितिक दलका कुनैपनि कार्यक्रमहरु संचालन नगर्ने उनीहरुले प्रतिवद्धता जनाएका छन ।

यस्तै, बालबालिका र शिक्षकलाई कुनैपनि प्रकारका राजनितिक गतिविधिहरु धर्ना, जुलुस, आमसभा जस्ता कार्यक्रमहरुमा सहभागि नगराउने साथै विद्यालय तहमा राजनितिक दलका भातृ संगठनहरु गठन नगर्ने, बालबालिकाहरुलाई राजनितिक तवरले पक्ष विपक्षमा सहभागि गराउने र दलगत बिचार व्यक्त गर्न नलगाउने, राजनितिक दल नेतृत्वले व्यक्त गर्ने बिचार स्वस्थ आलोचनाहरु गर्दा बालबालिका, महिला, लैङ्गि तथा यौनिक अल्प संख्यक समुदायलाई प्रत्यक्ष असर पुग्ने उखान, टुक्काहरुको प्रयोग नगर्ने र परिवार, समाज र विद्यालयमा कुनैपनि बहानामा बालबालिका विरुद्ध कुनैपनि किसिमका शाररिक सजाय, मानसिक हिंसा, शोषण, दुव्र्यवहार र भेदभाव नगर्ने प्रतिवद्धता जनाएका हुन ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नरहरीनाथ योगीले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सबै राजनितिक दलहरुले प्रारुप तयार गर्नुपर्ने बताए । आफ्नो पार्टीको घोषणा पत्र तयार भइरहेको भन्दै बालअधिकारका विषयलाई गम्भिरताका साथ उठाउन पहल गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका हजारी बादी, माओवादी केन्द्रका अर्जुन कुमार कटुवाल, राष्ट्रिय जनमोर्चाका पूर्ण शाही लगायतले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने वातावरण बनाइने बताए । प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले निर्वाचन आचार सहिंतालाई दलहरुले पालना गरे निर्वाचनमा बालबालिका प्रयोग नै नहुने बताए ।

बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष टिकाराम आचार्यले दलहरुले गरेका प्रतिवद्धता व्यवहारमा लागु गर्न आग्रह गर्दै नीति निर्माण तहमा पनि बालअधिकारको विषयलाई हल्का रुपमा लिन नहुने सुझाव दिए । उनले पूर्वाधार विकासलाई मात्र विकास नसोचेर बालबालिका पनि लगानी गर्न आग्रह गर्दै बालबालिकामा अहिलेको लगानी भोलीको दिगो विकास र समाज परिवर्तनका लागि हुने बताए ।