काठमाण्डौ । निर्वाचन आयोगले आउँदो कात्तिक १८ गतेभन्दा अघि राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारका लागि कोणसभा र आमसभा गर्न नपाउने बताएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव हुनुभन्दा १७ दिन अगाडिदेखी मात्रै कोणसभा र आमसभा गर्न पाउने व्यवस्थाअनुसार कात्तिक १८ गतेदेखि मात्रै कोणसभा र आमसभा गर्न पाउने बताए । यदि कात्तिक १८ गतेभन्दा अगाडि कोणसभा र आमसभा गरेर चुनावको आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उम्मेदवारको मनोनयन खारेजसम्म गर्ने उनले चेतावनी दिएका छन् । निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारले कोणसभा, आमसभा, सेमिनार, गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको पनि आयुक्त भण्डारीको भनाइ छ ।
यस्तै आयुक्त भण्डारीले अहिले घरदैलोमा जाँदा बढीमा २५ जनासम्मको समूहमा जान सकिने बताए । तर घरदैलोमा जाँदा पनि बाजागाजा बजाउने तथा भोजभतेर गर्न नपाइने उनले बताए । अहिले घरदैलोको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी आइरहेको पनि उनले बताए ।

फरकबाटो ३१ आश्विन २०७९, सोमबार १५:३८