स्वर्गीय श्रीमानको सम्झनामा शैक्षिक भवन र अक्षयकोष स्थापना

सुर्खेत । वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भिमबहादुर मल्लको स्मृतिमा शैक्षिक भवन र छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेकी छन् ।

उनले सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगरको लागि एक करोड रुपैयाँ बढीको शैक्षिक भवन र उक्त विद्यार्थीहरुका लागि भिमकमला छात्रवृत्ति अक्षयकोष स्थापना गरेकी हुन् ।

उनले  ७८ लाख २८ हजार ८८२ रुपैयाँ लागतमा चार कोठे भिमकमला मल्ल शैक्षिक भवन र २५ लाख एक हजार रुपैयाँ बराबरको भिमकला मल्ल छात्रवृत्ति अक्षयकोष स्थापना गरेकी हुन् । भवन निर्माण सम्पन्न गरेर शुक्रबार एक समारोहबिच उनले क्याम्पसलाई हस्तान्तरण गरेकी छन् ।

उनले क्याम्पसको शैक्षिक सुधारका लागि र विद्यार्थीहरुलाई पढाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताइन् । ‘मैले त ‘क’को अक्षर पनि पढ्न पाइन् । आफुले पढ्न नपाए पनि अरुले शिक्षा लिउँन, राम्रोसँग पढ्न पाउँन भनेर शिक्षामा लगानी गर्नुपर्छ भनेर सहयोग गरेको हुँ ’ उनले भनिन्, ‘श्रीमानको निधन भइसके पछि उहाँको नाममा केही गर्ने चाहाना पनि थियो । आज दुवै चाहाना पुरा गरे ।’

क्याम्पसल प्रमुख माधव प्रसाद खनालले शैक्षिक सुधारका लागि मल्लले क्याम्पसलाई आवश्यकता अनुसार गरेको सहयोग सराहनिय भएको भन्दै धन्यवाद ज्ञापन गरे ।