पश्चिम सुर्खेतका नागरिकको गुनासो-‘नेताले फेरि भोट माग्न आउने बाटो पनि गतिलो बनाएनन्’

सुर्खेत । पञ्चपुरी नगरपालिका–२ का धनपति बयकलाई वीरेन्द्रनगर ओहोरदोहार गरिरहनपर्छ । गाडीमा करीब डेढ घण्टामा पुगिने बाटोमा उनलाई तीनचार घण्टा लाग्छ । सडक स्तरोन्नति नहुँदा सुविधाभन्दा पनि सास्ती भोग्नु परेको उनको भनाइ छ ।

वि.सं. २०५० सालमा निर्माणको काम सुरु भएको बड्डिचौर–बेनिघाट सडकको अवस्था अहिले पनि जीर्ण छ । यो सडक अहिले मदन भण्डारी लोकमार्ग अन्तरगत पर्छ । सडकको नाम लोकमार्गमा बदलिए पनि स्तरोन्नति भने हुनसकेको छैन । जसकारण यहाँका नागरिकले सास्ती भोग्दै आएका छन् ।

सडक कालोपत्रे हुने आशमा तीन दशक बित्न थालेको स्थानीय धनपति बयकको भनाइ छ । पश्चिम क्षेत्रका राजनीतिक दलका नेताहरूले चासो नदिँदा र सरकार गम्भीर नहुँदा आफूहरूले सडक सास्ती भोग्नु परेको उनको गुनासो छ ।

चुनावका समयमा सडक राम्रो गराउँछु भनेर भोट भाग्ने बहानाको रुपमा यो सडक भएको उनले बताए । यही सडक स्तरोन्नति नभएका कारण पश्चिममा विकासमा पछि परेको उनले बताए । उनले भने, ‘यस क्षेत्रबाट जितेका नेताहरू सांसद भएका छन् । प्रदेश र केन्द्रमा मन्त्री भएका छन् । तर हामीलाई अहिलेसम्म केही भएन् । फेरि चुनाव आउन थाल्यो तर नेताहरूले  भोट माग्न आउने गतिल्लो सडकसमेत बनाएनन् ।’

उनले यो सडक मात्र नभएर गाउँका अन्य सडकले पनि सुविधाभन्दा सास्ती भोग्नु परेको दुखेसो पोखे । सडक बर्खामा झनै खराब हुन्छ । समयमा समेत मर्मतसम्भार नहुँदा समस्या हुने गरेको स्थानीयको गुनासो छ । सडक साँघुरो छ । खाल्डाखुल्डी छन् । पानी पर्न बित्तिकै सडकमा गाडी चल्दैनन् ।

चौकुने गाउँपालिकाका १० की तुल्सी राना मगरले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता रहेको गुनासो गरिन् । उनले भनिन्, ‘कच्ची सडक हुन्छ । त्यसमाथि बसमा यात्रु बढी हुन्छन् । बिहान वीरेन्द्रनगरबाट हिँडेपछि कहिलेकाँही त साँझै घर पुगिन्छ ।’

सोही ठाउँकी सपना विष्टले पनि सडक कालोपत्रे हुन्छ भन्दाभन्दै झन् बिग्रदै गएको बताइन् । कहिलेकाँही बर्खाको समयमा खोला बढ्दा गाडी चल्दैनन् । बिरामीलाई अस्पताल पु¥याउनसमेत कठिन हुने गरेको उनको भनाइ छ । उनले भनिन्, ‘भोट माग्न आउँदा नेताहरूले सडक राम्रो गराउँछौँ । विकास गछौँ भन्छन् । आफ्नो काम पर्दा जनता सम्झन्छिन् तर पूरा गर्दैनन् ।’

यस क्षेत्रका स्थानीय तहले सडकको स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारलाई बारम्बार अनुरोध गर्ने र पहल गर्ने गरेको बताउँछन् । पञ्चपुरी नगरपालिकाका नगरप्रमुख उपेन्द्रबहादुर थापाले प्रदेश र संघीय सरकारलाई अनुरोध गरिएको बताए ।

उनका अनुसार अहिले उक्त सडकखण्डमा संघीय सरकारले तीन ठाउँमा पुल निर्माणका लागि टेण्डर निकालेको छ । यस पटक पुल निर्माण भएपछि केही सहज हुने स्थानीयहरूले अपेक्षा गरेका छन् ।

पुल मात्र नभएर कालोपत्रे नै गर्नुपर्छ भनेर अनुरोध उठाएको उनको भनाइ छ । उनले भने, ‘हामी स्थानीय तहको स्रोतसाधनले भ्याउने कुरा भएन् । हामीले चाहेर पनि गर्न सक्दैनौँ । प्रदेश र संघीय सरकारसँग अनुरोध गरिरहेका छौं ।