जुम्लामा पालिका चुनावकाे सुरक्षाका लागि डिजिटल नक्सा

जुम्ला । जुम्लामा सुरक्षा निकायले पालिका चुनावकाे सुरक्षाका लागि तयारी बनाएको छ । जिल्ला सुरक्षा समितिले भौतिक रुपमा अनुगमनदेखि डिजिटल अनुगमन गर्न थालेको हो।

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले चुनावकाे सुरक्षाका लागि डिजिटल नक्सा समेत तयार गरिएको जानकारी दिनुभयो ।  उहाँले डिजिटल माध्यमबाटै भौगोलिक विषय र सुरक्षाको दृष्टिमा कति नजिक र टाढा तथा कसरी सुरक्षा व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा जिल्ला सुरक्षा समितिले डिजिटल नक्सा समेत तयार पारिएको जानकारी दिनुभयो ।

वैशाख ३० गतेको पालिका चुनाव नजिकिँदै गर्दै जिल्लाका राजनीतिक दल र सरोकारवाला निकायलाई भयरहित वातावरणमा पालिका सम्पन्न गर्न सुरक्षा निकायले गरेको र जिल्ला निर्वाचन कार्यालयले गरेको कामको जानकारी समेत गरिएको छ ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार जुम्लामा ७९ स्थलमा १०२ वटा मतदान केन्द्र रहेका छन् । तीमध्ये १४ वटा मतदान केन्द्र पाँच सयभन्दा कम मतदाता रहेका छन् ।
प्रहरी नायब उपरीक्षक चन्दका अनुसार केही मतदान केन्द्रमा हिँडेरै जानुपर्ने र एक दिन लाग्ने अवस्थाका छन् । त्यसका लागि सुरक्षा निकायले स्थलगत अनुगमन तथा अवस्थाको विषयमा जानकारी लिएर सुरक्षा योजना तयार पारिसकेको छ । यसैगरी जिल्लाका मतदान स्थलहरुमा एक महिना अघिदेखि सुरक्षा निकायले अनुगमन थालेको छ ।

निर्वाचन स्थल अनुगमनमा प्रजिअ प्रसाईँसहित नेपाली सेना नन्द बक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्राङ्गत दाहाल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक  नरेन्द्र चन्दसहितको टोलीले लामो समयदेखि स्थलगत अनुगमन गरिरहेको छ ।

निर्वाचन स्थलमा पुग्यो नेपाली सेना र सशस्त्र प्रहरी 

स्वच्छ भयरहित अवस्थामा चुनाव सम्पन्न गर्न सबैको आवश्यकता भएकाले सुरक्षा निकायले पनि स्थानीयको समन्वयमा सुरक्षा व्यवस्था गरिने नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले बताउनुभयो ।

सेनालाई राज्यले दिएको अधिकार र मापदण्डमा चुनावकाे सुरक्षाका लागि मतदान स्थलमा परिचालन भइसकेको उहाँले बताउनुभयो । उहाँले जिल्लामा डिजिटल नक्सा राखिएको र त्यहीअनुसार सुरक्षा निकायले जिल्लाभरि कसरी मतदान स्थलमा काम गरिरहेको हेर्ने काम समेत भइरहेको बताउनुभयो । सबै गाउँपालिकामा नेपाली सेनाको टाेली पुगिसकेकाे उहाँले बताउनु भयाे।

ड्रोनको समेत प्रयोग गरेर सबै मतदान स्थलको विवरण अपडेट गरिएको छ । यसैगरी सेनाले बम डिस्पोजल टिम पनि सबै पालिकामा पुगेको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्राङ्गत दाहालले जुम्लामा तीन वटै सुरक्षा निकाय चुनावकाे सुरक्षाकाे लागि तयार रहेकाे बताउनु भएकाे छ । उहाँले सशस्त्र प्रहरी आवश्यकता अनुसार परिचालन भइरहेको जानकारी दिनुभयो ।  यसैगरी जुम्लाबाट छनाेट भएका ६६९ जना म्यादी प्रहरी समेत परिचालन भइसकेका सुरक्षा समितिले जनाएको छ ।