‘बल्ल सरकार भयाउ महशुष गरिउ’


दैलेख । “बा हामी न अरु क्या चाहियो । हामी केही जान्नैनौ, केही थाहा पाउनैनौ । बुढेसकाल लागिगो, सन्चै हुनैन, पैसा पनि हुनैन । बेला-बेला यस्तै चेक गरि निशुल्क औषधि खान पाए हामीन सरकार घरै आयाजस्तो लाग्छ ।”

स्वास्थ्य चेक जाँच र औषधि प्राप्त गरिसकेपछि खुशी व्यक्त गर्दै गुराँस गाउँपालिका ६ की ८० वर्षीय रेशमकला बुढाले भनिन् “सक्न्या ले त आफ्नो उपचार आँफै गर्छन् । हामी नसक्न्यान सरकारको खाँचो पर्छ ।” उनले यसो भनिरहँदा उनको अनुहारमा खुशीको कुनै सिमा थिएन ।

उनले औषधि मात्रै पाइनन् दोशल्ला सहित सम्मान समेत प्राप्त गरिन् । मंगलबार गुराँस गाउँपालिकाले वडा नं ६ को स्वास्थ्य चौकी पिलाडीमा ३४ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर आयोजना गरेको जेष्ठ नागरिक जहाँ स्वास्थ्यकर्मी त्यहाँ कार्यक्रममा उनले खुलेरै गुराँस गाउँपालिकालाई धन्यबाद दिइन् ।

कार्यक्रममा सहभागी मध्येबाट ८० वर्ष माथीका दशजनालाई दोशल्ला सहित सम्मान गर्दा  रेशमकलाले समेत सम्मान पाउँदा थप खुशीको सिमा नभएको बताईन् ।

उनी मात्रै होइन निशुल्क स्वास्थ्य चेकजाँच पछि औषधि प्राप्त गर्दा सोही स्थानका खट्कु चन्दको समेत खुशीको सिमा रहेन । ८९ वर्षीय चन्दले बुढेसकालमा गाउँपालिकाले स्वास्थ्यजाँच सहित सम्मान गर्दा थप हौसला बढेको बताए । उनले भने “गाउँपालिकाले जेष्ठ नागरिकलाई गरेको सम्मान र मायाले बाँच्ने आशा अँझै पलायो ।”

“सम्मानित बुढ्यौलीः विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सवलीकरण” भन्ने मुल नारा सहित मनाइएको ३४ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा वडा नं ६ पिलाडी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा ९० जना जेष्ठ नागरिकहरुले स्वास्थ्य चेकजाँच गरेका थिए । स्वास्थ्य चेकजाँच र सम्मानपछि कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सीले जेष्ठ नागरिकको जहाँ सम्मान हुन्छ त्यहाँ कुनै अर्को धार्मीक कार्य गर्न नपर्ने बताए । उनले बुढेसकालमा आवश्यक पर्ने माया र सम्मान स्थानीय सरकारले दिन सके त्यही नै सुशासनको एउटा उदाहरण भएको बताए । अध्यक्ष वि.सीले सिमान्तकृत नागरिकहरुलाई सम्मान, हौसला र माया गर्दा कुनै ठुलो धनराशी खर्च गर्न नपर्ने भन्दै भौतीक संरचनाले मात्रै नागरिकमा खुशी नआउने बर्ताए । उनले दिवसको अवसरमा मात्रै नभई हरेक महिनाजसो जेष्ठ नागरिकहरुलाई यसरी नै सम्बन्धित वडामा गई स्वास्थ्य चेकजाँच गरी निशुल्क औषधि वितरण गर्ने गाउँपालिकाको तयारी भएको बताए ।

अध्यक्ष वि.सीले वडा नं ८ मा समेत सहभागी भई जेष्ठ नागरिक भेटघाट र स्वास्थ्य अवस्थाबारे चासो दिएका थिए । वडा नं ८ धरमपोखरा स्वास्थ्य चौकीमा करिब ५० जना जेष्ठ नागरिकहरुको स्वास्थ्यचेक जाँच गरी निशुल्क औषधि समेत वितरण गरिएको थियो । साथै कार्यक्रममा सहभागीमध्ये ७० वर्ष माथीका १० जना जेष्ठ नागरिकहरुलाई अध्यक्ष बि.सीले दोसल्ला ओढाई सम्मान समेत गरेका थिए ।

यस्तै अध्यक्ष वि.सी १०० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई घरभेट कार्यक्रम गरि स्वास्थ्य अवस्था बुझी सम्मान समेत गरेका थिए ।

यस्तै उपाध्यक्ष शिवाकुमारी खड्का समेत जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न वडा तहमा पगेकी थिइन् । स्वास्थ्यकर्मी सहित वडा नं २ की १०७ वर्षीय मोतीकला बुढाको घरमै गई चेकजाँच र औषधि वितरण गरिएको खड्काले बताइन् ।

वडा अध्यक्ष चन्द्रबहादुर रानाले जेष्ठ नागरिक भनेका आँफुहरुका सम्पत्ति भएकोले उहाँहरुबाट सिक्नुपर्ने पुस्ता हस्तान्तरणका थुप्रै सिप र संस्कारहरु भएकोले उहाँहरुको स्वास्थ्यलाई आँफुहरुले विशेष ध्यानमा राखेर कार्यक्रमको आयोजना गरेको बताए ।

दिवसको अवसर पारी गुराँस गाउँपालिकाले ८ वटै वडाहरुमा जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरी निशुल्क औषधि समेत वितरण गरेको सुचना अधिकारी दिनेश दाहालले जानकारी गराए । उनले गाउँपालिकाका ८ वटै वडाका गरी करिब पाँचसय भन्दा बढी जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच गरी निुशल्क औषधि समेत वितरण गरिएको बताए ।