सुर्खेत । सामाजिक कुरिती अन्त्यका लागि साझा अभियान आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । छाउपडी कुप्रथा, लैंगिक हिंसा, घरेलु हिंसा, बोक्सीको आरोप, बाल विवाह, बहु विवाह, सामाजिक विभेदलागयतका कुरिती अन्त्य गर्न सबैले साझा अभियान गर्न आश्यक रहेको सरोकारवालाहरुले बताएका हुन् ।
वीरेन्द्रनगरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय काठमाण्डौले आयोजना गरेको कुरिती विरुद्ध सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा सहभागिले यस्तो बताएका हुन् । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले सबैले अभियानकै रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले छाउपडी प्रथा, विभेदलगायतका सामाजिक कुरिति अन्त्यका लागि धार्मिक गुरु, धामिझाँक्रीहरुलाई पनि सँगै लिएर अघि बढ्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जनचेतना जगाउन आवश्यक रहेको बताए । कुरितीहरुलाई अन्त्य गर्न सके मात्र समाजलाई सभ्य गराउन सकिने भन्दै यसका विरुद्ध सबै साझा अभियानका रुपमा लाग्नुपर्ने उनको जोड छ ।
मन्त्रालयका उपसचिव ममता बास्तोलाले सामाजिक कुरिती विरुद्ध सरकारले गरेका प्रयासका बारेमा बताउँदै यसका सबैको सहकार्य र समन्वय हुन आवश्यक रहेको बताइन् । उनले ऐन, कानून, निर्देशिका प्रर्याप्त भए पनि कानून जानकारी नहुनु र प्रभावकारी कार्यान्वयन नहुँने गरेको उल्लेख गरिन् ।
फरकबाटो १७ असार २०७९, शुक्रबार ११:४७