
सुर्खेत । दार्चुलामा तुइनबाट खसेर एक जना बालक बेपत्ता भएका छन् । व्यास गाउँपालिका वडा नम्बर ४ डोकटमा रहेको कौनेणी तुइनबाट खसेर स्थानीय १० वर्षका बालक दीपेन्द्र बिष्ट बेपत्ता भएका हुन् ।
घाँस काट्न भारतीय भूमीतर्फ गएकी आमासँगै गएका बालक तुइनबाट खसेका व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिए । घटना गएको बिहिबार नै भएको भए पनि सञ्चार सुविधा नभएकोले आज मात्रै थाहा भएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे औपचारिक जानकारी नआएको बताएको छ । बिहिबार भएको घटनाबारे आज मात्रै थाहा पाएपछि बुझ्नको लागि घटनास्थलमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । हराइरहेका बालक ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत रहेका उपाध्यक्ष कुँवरले बताए ।

फरकबाटो २३ पुष २०७९, शनिबार १९:२९