नदीजन्य पदार्थको उत्खनन तथा ठेक्कामा अनियमितता गरेको भन्दै तत्कालीन मेयरसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुर्खेत । कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन मेयर सुरेन्द्रबहादुर विष्ट र प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

महाकालीको नदीजन्य पदार्थ उत्खनन तथा ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर विष्टसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा भीमदत्त नगरपालिका भएर बग्ने महाकाली नदीको नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीका लागि लगाइएको ठेक्कामा कम कबोल गरी सरकारलाई प्राप्त हुने राजस्व हिनामिना गरेको पाइएकोले मुद्दा दायर गरेको अख्तियारले निमालेको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले हिनामिना भएको राजस्वलाई बिगो कायम गरी दोब्बर जरिबाना र कैद सजाय मागदाबी गरेको छ । मेयर विष्ट र प्रमुख प्रशासकीय अधिकृत भट्टविरुद्ध तीन करोड ३३ लाख २२ हजार पाँच सय ८३ रुपैयाँ बिगो, बिगोको दोब्बर जरिबाना तथा आठदेखि १० वर्षसम्म कैद सजाय मागदाबी भएको छ ।

यस्तै अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीविरुद्ध दुई करोड ११ लाख ६५ हजार छ सय आठ रुपैयाँ बिगो दोब्बर जरिबाना र कैद सजायको पनि माग गरेको छ । राजस्व छुटका लागि गठित कार्यदल संयोजक तथा सदस्यहरू वडा नम्बर १७ का अध्यक्ष चन्द, प्रशासकीय अधिकृत धामी र शाखा अधिकृत शाह तथा राजस्व छुट कार्यदलका सदस्य इन्जिनियर ऐर र सम्झौतामा साक्षी बस्ने उपाध्यायविरुद्ध छुट्टाछुट्टै सजाय मागदाबी भएको छ ।

जनप्रतिनिधि र कर्मचारीलाई आर्थिक प्रभावमा पारेर रोयल्टी हिनामिना गरेकोमा भवानी कन्स्ट्रक्शनका सञ्चालकहरूलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।