यो सरकार मलमा ‘माल’ खोजिरहेको छ : भट्टराई

काठमाडौँ । एमालेका सांसद योगेश भट्टराईले वर्तमान सरकार कृषि मलमा अनियमितता गर्न खोजिरहेको आरोप लगाएका छन् । किसानले समयमा मल नपाउनुको कारण सरकारमा रहेका व्यकतिहरूले नै मल आयातमा अनियमितता गर्न खोजेर भएको बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा कृषि मन्त्रालयका लागि विनियोजित बजेटमाथि आफ्ना धारणा राख्दै सांसद भट्टराईले उक्त आरोप लगाएका हुन् । ‘आज बालिनाली लाउने बेला भइसकेको छ, मलको हाहाकार छ । मल छैन ।’

मल खोज्न कृषिमन्त्री महिन्द्रराय यादव भारत भ्रमणमा रहेको अवस्थामा मल आउला त भन्ने पनि भट्टराईले प्रश्न गरे । ‘हामीले सुनिराख्या छौं मल खोज्न कृषिमन्त्री भारततिर जानुभएको छ, कहाँ पुग्नुभयो ? उहाँको हालखबर के छ ? मल आउँछ कि आउँदैन ? मल ल्याएर आउनुहुन्छ कि आउनुहुन्न ? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुने हो कि भन्ने आशंका पनि छ,’ उनले भने ।

सरकारले नै मल ल्याउने नखोजेको भट्टराईको आशंका थियो । ‘मल आउँछ तर यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजिरहेको छ माल !,’ उनले भने, ‘जबसम्म माल आउँदैन मलमा, तबसम्म मल आउनेवाला छैन । त्यसरकारण हामीले मल खोजकेो हो मालको पछाडि लाग्ने खोजेको होइन ।’