अमेरिकामा नेपाली दूतावासको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटियो


सुर्खेत । अमेरिकामा नेपाली दूतावासको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको छ । वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति निकालेर कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको मनी अर्डर र क्यासियर चेकहरु लुटिएको जानकारी दिएको छ ।

गएको डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालास, अस्टिन र ह्युस्टनमा सञ्चालित कन्सुलर सेवा शिविरमा सङ्कलित मनी अर्डर र क्यासियर चेकहरु लुटिएको दूतावासको भनाइ छ । कर्मचारीहरु डिसेम्बर २२ का दिन ह्युस्टन सहरबाट वासिङ्टन डीसी जाने क्रममा पार्किङमा राखिएको गाडी तोडफोड भइ लुटिएको उल्लेख छ ।

दूतावासले घटनाबारे ह्युस्टन प्रहरी विभाग तथा कुटनीतिक सुरक्षा महाशाखा ह्युटनलगायतका निकायमा उजुरी गरी लुटिएको मनी अर्डर र क्यासियर चेक फिर्ता लिने प्रयास भइरहेको पनि जानकारी दिएको छ । दूतावासले कन्सुलर सेवा शिविरबाट सेवा प्राप्त गरेका सबै नेपाली सेवाग्राहीलाई सम्भव भएसम्म मनी अर्डर र क्यासियर चेक रद्द गर्न आग्रह पनि गरेको छ ।