सुर्खेत । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि मतदातालाई भोलि बुधवारसम्ममा काठमाण्डौ आईपुग्न निर्देशन दिएको छ ।
राष्ट्रपति चुनावका लागि गठबन्धनबाट बनेको कार्यदलको आज मङ्गलवार बसेको बैठकले सबै मतदातालाई भोलि बिहान ११ बजेसम्म काठमाण्डौ आइपुग्न निर्देशन दिएको हो । सिंहदरबारमा बसेको बैठकपछि गठबन्धन कार्यदलका संयोजक एवम् नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बैठकमा यही २५ गते हुने राष्ट्रपति चुनावका विषयमा छलफल भएको जानकारी दिए ।
त्यस्तै बैठकपछि नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले बैठकमा गठबन्धनलाई विस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको बताए ।
गठबन्धनमा रहेका नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पाटीले कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गरेका छन् । पर्सि फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि पौडेल र एमालेका नेता सुवासचन्द्र नेम्वाङले गत १३ गते मनोनयन दर्ता गरेका थिए ।
फरकबाटो २३ फाल्गुन २०७९, मंगलवार २१:५२