व्यवसायिक तरकारी खेतीतर्फ किसानहरु आर्कषित

सुर्खेत । वीरेन्द्रनगर ९ लाटीकोइली स्थित चाँदनी चोक, धरमपुर चोकका साना किसानहरु व्यवसायिक तरकारी खेतीतर्फ आर्कषित भएका छन् । पहिले तरकारी किनेर खाने यहाँका स्थानीय व्यवसायिक तरकारी बिक्रि गरेरै आम्दानी गर्छन् ।
परम्परा खेतीबाटै गुजारा चलाउँदै आएका उनीहरु अहिले व्यवसायिक तरकारी खेतीमा जुटेका हुन् ।

उनीहरुले अर्गानिक तरकारी उत्पादन गर्छन् । घरमै उत्पादन गरेको कम्पोष्ट मल तरकारी खेतीमा प्रयोग गर्छन् । कम्पोष्ट मलको प्रयोगले युरिया मललाई विस्तापित गरेको छ । चाँदनी चोककी भद्रा शाहीले तरकारी किनेर खाने अवस्थाबाट अहिले आफूले बिक्रि गरेर आम्दानी गरेको बताइन् । उनले भनिन्, ‘पहिले तरकारी किन्न मनिकापुर, बामे खोला जान्थ्यौँ । टाढा भएकाले सधै जान समस्या हुन्थ्यो । एक पटक गएर एक हप्तालाई तरकारी ल्याएर सुकाएर खान्थ्यौँ । अहिले आफ्नै बारीमा तरकारी फल्छ । व्यापारीहरु किन्न आउँछन् ।’ उनले तरकारी बिक्रि गरेर आम्दानी गरेको बताइन् ।

प्रत्येकको घरमा भकारो सुधार छ । कृषकहरु घरमै कम्पोष्ट मल बनाउँछन् । सोही ठाउँकी तुल्सी शाहीेले अर्गानिक तरकारी उत्पादन गर्ने गरेको बताइन् । उनले भनिन्, ‘हामीले अर्गानिक तरकारी खेती गछौँ । घरमै कम्पोष्ट मल बनाउँछौँ । गड्यौली मत उत्पादन गरेका छौँ । तरकारी मात्र नभएर मल पनि बिक्रि गर्ने गरेका छौँ ।’ बेमौसी तरकारी खेतीमा जोड दिइएको उनको भनाई छ ।

उक्त ठाउँमा कारितास नेपालले साना किसानहरुलाई व्यवसायिक बन्न, पोषणमा सुधार, खाद्य सुरक्षा र आर्थिक वृद्धिका लागि सहयोग पु¥याउने उद्देश्यले साफ्बिन परियोजना लागू गरेको छ । परियोजनामार्फत किसानहरुलाई निशुल्क बिउँ वितरण, औजार, प्राविधिक सहयोग गर्दै आएको कार्यक्रम अधिकृत लक्ष्मी आचार्यले जानकारी दिइन् । उनका अनुसार साना किसानहरुले समूह निर्माण गरी सामुयिक खेती समेत गरेका छन् । वीरेन्द्रनगरको लाटीकोइलीसँगै गढी, लेखगाउँ र रामघाटमा परियोजनाले काम गर्दै आएको छ ।

धरमपुरका प्रेम बहादुर खत्रीले परियोजनामार्फत आफूहरु व्यवसायिक र अर्गानिक खेतीतर्फ लागेको बताए । उनले परियोजनामार्फत पाएको सहयोगले आफुहरुलाई व्यवसायिक बन्न सहयोग पुगेको बताए । उनले भने, ‘हामीले आफैले खानकै लागि तरकारी लगाउँदैन्थ्यौँ । मकै गहुँ लगाएर खान पुग्दैन्थ्यो । अहिले यि जग्गामा बेमौसमी तरकारी खेती गगछौँ । आम्दानी पनि हुँदै गएको छ ।’