प्रहरीले बरामद गरेको लागु औषध कहाँ जान्छ ?

सुर्खेत । गत शुक्रबार आमा–छोरा सहित पाँचजनालाई लागु औषध कारोबारमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्‍र्यो ।

वीरेन्द्रनगर ५ सुर्खेतकी ४० वर्षीय सुमित्रा कामीको घरबाट प्लाष्टिक सहित १ सय ग्राम ब्राउनसुगर र ७८ हजार १ सय ९० नगद प्रहरीले बरामद गरेको थियो ।

यस्तै अन्य व्यक्तिहरुबाट ८ सय ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित लागु औषध नापतौल गर्ने प्रयोजनको लागि राखेको डिजिटल तराजु एक थान बरामद गरिएको थियो । लगत्तै प्रहरीले उक्त कुराको जानकारी दिन पत्रकार सम्मेलन कै आयोजना गर्‍र्यो ।

यसरी नै वर्षेनी प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गर्छ ।

आर्थिक वर्ष २०७८/०७९ मा १ सय ८७ ग्राम ८ सय ४.८ मिलिग्राम ब्राउनसुगर नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

कार्यालयका प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार ह्वाइट सुगर ७ ग्राम १ सय ४० मिलिग्राम, चरेस २ सय ५२ ग्राम ९ सय ३० मिलिग्राम, नाईट्रामेट १ हजार २ सय १९ ट्याब्लेट, कोरेक्स १ सय एमएलको एकवटा र ट्रामोडोल १ सय ११ ट्ब्याबलेट प्रहरीले बरामद गरेको हो ।

एकवर्षमा प्रहरीले लागु औषध सेवन तथा कारोबारमा संलग्न १ सय १३ जना पुरुष र ९ जना महिलालाई पक्राउ गरेको कुरा सार्वजनिक गरेको छ ।

लागु ओैषध कारोबारमा संलग्नहरुलाई त लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धानपछि पुष्टि भएमा कार्रबाही हुन्छ तर उनीहरुबाट बरामद गरिएको लागु औषध कहाँ जान्छ ? यो सबैको चासोको विषय हो ।

सानो परिमाणमा भएपनि लाखौंको कारोबार हुने लागु औषधमा नेपाल प्रहरीको मिलोमतो पनि हुन्छ भन्ने आरोप प्रहरी संगठनलाई छ । घरेलु मदिरा र खेतीगरिएको अफिम तथा गाँजाहरु सार्वजनिक रुपमा नै नष्ट गर्ने र सञ्चार माध्यमहरुमा समेत जानकारी दिने तर लाखौंको कारोबार र धेरै नागरिकको चासोको विषय बन्ने लागु औषध ब्राउनसुगर लगाएतका चिजहरु नष्ट गर्दा प्रहरीले सार्वजनिक गर्न किन सक्दैन ?

उसो त लागुऔषध सेवनकर्ता र कारोबारीहरुबाट बरामद गरिएको लागु औषध ऐनको दफा ११ को (क) बमोजिम नै नष्ट गरिने प्रहरी निरीक्षक सुनार बताउँछन् ।

“ऐनमा कुनैपनि व्यक्तिबाट लागु औषध बरामत भएपछि औषध नियन्त्रण अधिकारीले लागु औषधको प्रत्येक पोकाबाट प्रहरी सहायक निरीक्षक र मुद्धा हेर्ने अधिकारीले खटाएको एकजना कर्मचारीको रोहबरमा बढीमा ३ ग्राम सम्म लागु औषध प्रत्येक पोकाबाट स्याम्पल लिई परीक्षणका लागि पठाउने, लागु औषधको प्रकृति छुट्याउन लागु औषध मुद्धाको अनुसन्धान अधिकारीले त्यस्तो लागु औषध स्याम्पल नमुनाका लागि राख्ने र अदालतमा त्यस्तो मुद्धा म्याद थपका लागि पेश भएपछि अदालतले प्रत्येक पोकाबाट बढीमा तिनग्राम लागु औषधको नमुना राखी बाँकी लागु औषध सम्बन्धित जिल्ला अदालतको प्रतिनिधि, स्थानिय जिल्ला प्रशासनको प्रतिनिधि र स्थानिय नगरपालिका वा गाउँपालिकाको प्रतिनिधि समेतको रोहबरमा मुद्धा म्याद थपका लागि अदालतमा पेश भएको १५ दिन भित्र नष्ट गर्नुपर्नेछ भनी उल्लेख गरिएको छ ।”

ऐनको दफा ११ (ख) मा लागु औषध नष्ट गरेको लगत राख्नुपर्ने व्यवस्था छ । जसमा दफा ११ र ११ (क) बमोजिम लागु औषध नष्ट गर्दा सम्बन्धित अधिकारीले लागु औषधको किसिम र परीमाण सम्बन्धि लगत राख्नुपर्नेछ भनी उल्लेख गरिएको छ ।

लागु औषध नष्ट गर्दा कानुनमा व्यवस्था भएका अधिकारीहरुकै रोहबरमा गरिने र उक्त कुराको लगत समेत राखिने गरिएको प्रहरीको भनाई छ । लागु औषध नष्ट गर्दा सञ्चार माध्यमहरुमा समेत सार्वजनिक गर्ने कुराको भने हाल सम्म अभ्यास नभएको प्रहरी अधिकारी सुनाउँछन् ।

लागु औषध बरामद गरेपछि पत्रकार सम्मेलन नै गरेर यती परीमाणमा लागु औषध सहित यती जना पक्राउ गरियो भनेर सार्वजनिक गर्न सक्ने प्रहरी प्रशासनले लागु औषध नष्ट गर्दा किन सार्वजनिक गर्न सक्दैन ? यो प्रश्न सबैको मनमा उब्जिन्छ ।