‘कर्जा लिएर ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता हो’


सुर्खेत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् ।

शनिबार कृषि विकास बैंकको ५६औँ वार्षिक साधारणसभामा गभर्नर अधिकारीले बैंकहरूबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने भन्नु अराजकताको माथिल्लो रूप भएको बताए । उनले बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठित रूपमा दबाब दिन नमिल्ने उल्लेख गरे । पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौतीहरू देखिएको उनले सुनाए ।

उनले बैंकको कर्जा सार्वजनिक सम्पत्ति, सर्वसाधारणको निक्षेप भएको बताए । वाणिज्य बैंकहरूको अधिकांश कर्जा सर्वसाधारणको निक्षेप भएको भन्दै उनले कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता तथा वित्तीय स्थायित्वमा समस्या आउने औँल्याए । व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्ने स्वीकार गरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने उनको भनाइ छ ।

गभर्नर अधिकारीले यस्ता अराजक कुरालाई कसैले पनि प्रश्रय दिन नहुने भन्दै राष्ट्र बैंक यो विषयमा सतर्क र सजग रहेको बताए । उनले यस्ता चुनौतीहरूले समग्र बैंकिङ प्रणाली, अर्थतन्त्रमा ठूलो असन्तुलन र बेथिति ल्याउने पनि बताए । उनले राष्ट्र बैंक यो विषयमा सचेत र सतर्क रहेको भन्दै यस्ता अभियान र संर्घष लामो समय नटिक्ने जिकिर गरे ।

“पछिल्लो समय बैंकहरूमा धेरै चुनौतीहरू छन् । समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतीहरू देखिएका छन् । बैंकहरूबाट ऋण लिने तर त्यो ऋण तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने भनी संगठन गरी संगठित रूपमा बैंकबाट लिएको ऋण तिर्नु पदैन भन्ने खालका कुराहरू बजारमा आउन थालेका छन् । जुन कुरा एउटा अराजकताको पनि अत्यन्तै माथिल्लो रूप हो ।

बैंकको ऋण भनेको सार्वजनिक सम्पत्ति भएको र सर्वसाधारणको निक्षेप भएको उनले बताए ।

उनले भने, “मैले कुनै बैंकबाट ऋण लिन्छु, म ऋण वा ऋणको ब्याज तिर्दिनँ भनेर उभिन मिल्छ रु ऋण स्वीकार गरेर लिएको हो । यस्ता अराजक कुराहरूलाई कसैले पनि प्रश्रय दिनु हुँदैन । यस्ता कुरा वित्तीय अपराध हो । हामी यसमा सजक सतर्क छौँ । त्यस्ता कुराहरू हुनेवाला छैनन् । यस्ता कुराहरूले समग्र बैंकिङ प्रणाली, अर्थतन्त्रमा ठूलो असन्तुलन ल्याउँछ । ठूलो बेथिति ल्याउँछ । ऋण लिएर तिर्नु पदैन भनेर कही कतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ रु नेपाल राष्ट्र बैंक यो विषयमा सचेत र सतर्क छ । विभिन्न अभियान र संर्घषको कारणले वित्तीय प्रणालीलाई असर पर्ला भन्ने लागेको छ भने त्यो छोटो अवधिको हुनेछ । यस्ता कुराले थप प्रश्रय पाउनु हुँदैन ।”