वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक


सुर्खेत । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन् ।

कुनै बैंकहरुको ब्याजदरमा भने कुनै थपघट भएको छैन । साउन महिनामा सबैं बैंकहरुले ब्याजदर घटाए पनि भदौमा भने केही मात्र घटाएको छन् । निक्षेप ब्याजदरमा भएको असमानताले गर्दा बैंकहरुमा भएको अस्वस्थ प्रतिस्र्धालाई कमी गर्न निक्षेपको ब्याजदर बढाएको बैंकरहरुको भनाई छ ।

नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६ प्रतिशत देखिएको छ ।

कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया लगायतका बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएका हुन्। संस्थागत तर्फ यी बैंकहरुले अधिकतममा ८.८९६ प्रतिशतका दरले ब्याज दिने भएका छन्। एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया लगायतका बैंकहरुले भने साउन महिनाको तुलनामा ब्याजदर घटाएका छन्।

सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । सो बैंकको मुद्दति निक्षेपमा अधिकतममा ८.९२ प्रतिशत ब्याज दिने भएको छ । संस्थागत तर्फभने सो बैंकले ६.९२ प्रतिशतका दरले ब्याज दिनेछ ।