सुर्खेत । प्रथम दक्षिण एशियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली आज भूटानको थिम्पु प्रस्थान गरेको छ ।
भोलिदेखि आउँदो सोमवारसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्शल आट्र्स केन्द्र (एमएमएसी) का ४ पुरुष र २ महिला गरी ६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ४० केजीमुनि विसाज महर्जन र सदिन तामाङ, ५० केजीमुनि जुविन महर्जन तथा ३६ केजीमुनि साइमन तामाङले खेल्नेछन् । महिला ५७ केजीमुनि श्रष्टा नापित तथा ३६ केजीमुनि जेनिशा वाइबा सहभागी हुनेछन् ।
प्रशिक्षकमा योगन्द्र विष्ट, अफिसियलमा नवीन महर्जन, आईटी अफिसियलमा लखनराज थापा मगर र कुलबहादुर कुँवर तथा निर्णायकमा किरण गडेल रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलगायतले एक कार्यक्रमका बीच बिदाइ गरे ।
प्रतियोगितामा नेपालसहित भारत, भूटान र बङ्गलादेशका ८ टिमको सहभागिता रहने एमएमएसीका मुख्य प्रशिक्षक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
फरकबाटो २३ बैशाख २०८२, मंगलवार १९:१२