सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं १४ गढीमा यस पटक नेकपा एमाले आफ्नो गढ बनाउने दाउमा रहेको छ । एमालेले आफ्नो पक्षमा जनलहर बढ्दै गएकोले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको जित सुनिश्चित भएको नेताहरुको दावी छ । गढीमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो । तर यस पटक एमालेले पार्टीमा जनलहर बढेको भन्दै आफ्नो पक्षमा जित हुने दावी गरेको हो ।
एमालेले निर्वाचन नजिकिएसँगै घरदैलो अभियान र चुनावी सभालाई तिव्रता दिएको छ । बिहीबार एमालेले वीरेन्द्रनगर वडा न १४ गढीमा चुनावी सभाको आयोजना गरेको थियो । सभामा वीरेन्द्रनगर नगर प्रमुखका उम्मेदवार मोहन माया ढकाल, उपप्रमुखका उम्मेदवार निलकण्ठ खनाल, एमाले सुर्खेतका अध्यक्ष अमृत बिसी, उपाध्यक्ष कुलमणी देवकोटा, एमाले निर्वाचन आयोगका सदस्य सुवित्रा विसी, वीरेन्द्रनगर वडा नं १४ का अध्यक्षका उम्मेद्वार देव बहादुर रोकायलगायत सयौँ कार्यकर्ताको सहभागिता रहेको थियो ।
चुनावी सभामालाई सम्बोधन गर्दै नगरप्रमुखका उम्मेदवार मोहन माया ढकालले एमालेमा देखिएको जनलहरले जित सुनिश्चत भएको बताइन् । देशको राष्ट्रियता र सार्भमौम सत्ता सम्पन्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरिन् । उनले अहिले देशभर नै एमालेमा जनलहर बढेको भन्दै पूर्व मेचिदेखि पश्मि महाकालीसम्म एमालेले जित्ने दावी गरिन् ।
उनले आफु वीरेन्द्रनगरको उपप्रमुख भएर शिक्षा, स्वास्थ्य, स्वरोजगार तथा पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै अब प्रमुख भएर नगरपालिकालाई उदारणीय नगरपालिकाको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
उनले सडक कालोपत्रे गर्ने, कृषि पशुपालन, पर्यटन, खानेपानी व्यवस्थापन, उर्जालाई प्राथमिकता दिने बताइन् । उनले भनिन्, ‘यो ठाउँ पर्यटकिय रुपमा चर्चित ठाउँ हो । यहाँ पूर्वाधार विकास गरेर पर्यटकिय क्षेत्रलाई अघि बढाउँछौँ । १२ महिनानै बत्ति नजाने गरी उर्जाको काम गछौँ । १२ महिना चल्ने सडक बनाउँछौँ ।’
उपप्रमुखका उम्मेदवार निलकण्ठ ढकालले गढीको मुहार फर्न आफुहरु प्रतिवद्ध रहेको बताए । उनले भने, ‘गढीको पर्यटन क्षेत्रमा के गर्न सकिन्छ, कृषि पशुपालनमा के गर्न सकिन्छ । पूर्वाधारमा के गर्नु पर्छ । यहाँको सबै ठाउँको विकास गर्न के गर्नुपर्छ । हामी सबै जानकार छौँ र प्रतिवद्ध छौँ ।’ उनले गढीको छेडादेखि १४ नं वडाको पश्चिमको सिमानासम्मको सडक छेउमा गुराँसको बोट रोपेर पर्यटकिय रुपमा आर्कषण केन्द्रबिन्दु बनाइने बताए ।
नेकपा एमाले सुर्खेतका अध्यक्ष अमृत बिसीले गठबन्धनले जनतामा भ्रम सृजना गरेकोले एमालेमा जनलहर बढेको र जित सुनिश्चित भएको बताए । उनले नगरको विकासका लागि एमाले सधै प्रतिवद्ध उल्लेख गरे । उनले गढी ऐतिहासिक ठाउँ भएकाले पनि पर्यटनबाटै पनि गरिबि हटाएर समृद्ध बनाउन सकिने दावी गरे । उनले भने, ‘सडक छेउमा गुराँशका रुखहरु रोपिने छन् । प्रत्येक गुराँशका रुखहरुमा प्रत्येक घरको नाम हुने छ । तपाईहरुले नै रेखदेख गर्नुहुनेछ पर्यटकको आर्कषण बढ्नु साथै आर्थिक आम्दानी गर्न सकिन्छ । पर्यटनबाटै यहाँको समृद्धी हासिल गर्न सकिन्छ । गरिबी हटाउन सकिन्छ ।’
कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार देव बहादुर रोकायले यस पटक एमालेले गढीमा आफ्नो गढ बनाउने दावी गरे । निर्वाचनमा एमालेले जित हासिल गरेर गढीको मुहार फेर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
फरकबाटो २२ बैशाख २०७९, बिहीबार २१:२२