नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा भोलि सकिँदै


सुर्खेत । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा भोलि सकिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न दलहरुलाई भोलि बेलुका ५ बजेसम्मको समय दिनुभएको छ । बहुमत पुर्याउने दलले भोलि बेलुकी ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ । कांग्रेस र एमालेबाहेक कुनै पनि दुई दल मिल्दा बहुमत पुग्ने अवस्था छैन । तर सत्ता गठबन्धनका मुख्य दल कांग्रेस र माओवादी केन्द्र निरन्तर छलफलमा भए पनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन ।

हिजो बेलुकाको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसकेपछि आज फेरि छलफलको तयारी छ । गठबन्धनकै सरकार गठनका लागि आज दिउँसो ३ बजे पुनः छलफल हुने नेताहरुले बताएका छन् ।

देउवा र प्रचण्डबीच हिजो भएको छलफलमा नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न सकेन । कांग्रेस सभापतिसमेत रहेका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिनुभएको छ भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिए ।

गठबन्धनबाट नभए एमालेसँग मिलेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रचण्डको तयारी छ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि एमालेसँग पनि छलफल भइरहेको बताए ।