काठमाडौं । निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिको प्रतिनिधित्व हुनेगरी निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) स्थापना भएको छ । पालिका चुनावलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा केन्द्र स्थापना गरिएको हो ।
केन्द्रमा गृह मन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका अधिकृतको प्रतिनिधित्व रहेको छ । निर्वाचन आचारसंहिता तथा अन्य गतिविधिको अनुगमन तथा मूल्याङ्कन गर्न केन्द्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा अनुसन्धान प्रहरीका प्रतिनिधिको प्रतिनिधित्व रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केन्द्रको उदघाटन गर्दै चुनाव सफल बनाउन सबै पक्षलाई आह्वान गरे ।
केन्द्रको मुख्य काम आचारसंहिताको कार्यान्वयन भए÷नभएको हेर्ने, सुरक्षा व्यवस्था र चुनावी अन्य गतविधिबारेमा जानकारी लिएर कार्यान्वयनका लागि पहल गर्ने रहेको पनि उनले बताए । वैशाख ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारको मनोनयन भोलि र पर्सि हुँदैछ ।
फरकबाटो १० बैशाख २०७९, शनिबार १७:२१