एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् ।

प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो ।

तर प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् । प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको पनि खरेलले बताइन् ।

हिजो बेलुकासम्म आउने कुरा गरेको तर आज बिहान प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाले आउन नभ्याउने भनेर जानकारी गराएको खरेलको भनाइ छ । आज बिहानभर पनि प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेर कोसिस गरेको तर नसकेको उनले बताइन् ।