पहिरोमा परी कर्णालीमा २१ जनाको मृत्यु

सुर्खेत । पहिरोले मुगु र कालिकोटमा गरी २१ जनाको मृत्यु भएको छ। मुगुको मुगु छायाँनाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर आठजनाको मृत्यु भएको छ।

सोमबार बिहान तल्लो सालिमगाउँको माथिबाट आएको पहिरोमा परी आठजना बेपत्ता भएका थिए। बेपत्ता सबैको शव फेला परेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। पहिरोमा परी मृत्यु हुने सबै सालिमगाउँका रहेका छन्

 मृत्यु हुनेमा कृष्ण सावत, सत्ता सावत, गोरिकला बोहरा, चक्रवीर बोहरा, होइजाली भग्री, हाजिरा भग्री, सुस्मिता भग्री र वीरबहादुर भग्री रहेका छन्। निरन्तरको वर्षाले नगरपालिकाको गमगाडमा रहेका काठेसाँघु, झोलुंगेपुल बगाएको छ भने गमगाड वितरण केन्द्रमा क्षति पुर्‍याउँदा विद्युत् अवरुद्ध भएको छ।

प्रजिअ महतका अनुसार वडा नम्बर ८ झ्यारीगाउँ, वडा नम्बर ७ टोप्लागाउँ, वडा नम्बर ४ को ढुम, वडा नम्बर ५ को भियालवाडा गाउँ र सदरमुकाम गमगढीको कालिकामालिका दक्षिण खण्डमा वर्षाले क्षति पुर्‍याएको छ। पहिरोले करिब पाँच सय परिवार विस्थापित भएको अनुमान गरिएको उनले बताए।

कालिकोट १३ जनाको शव फेला, २ को खोजी जारी

कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना बेपत्तामध्ये १३ जनाको शव फेला परेको छ। मृतक स्थानीय युवक हेमराज शाहीको मलामीमा गएका वडा नं. ४ का वडाध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएका थिए।

कर्णाली नदी र कुकुर खोलाको भाडीखोला घाटमा लास दाहसंस्कार गर्दैगर्दा खोलामा ठूलो पहिरो आएपछि मलामी गएकाहरू बेपत्ता भएका थिए। कालिकोट प्रहरी कार्यालयका प्रहरी निरीक्षक नन्दबहादुर रावतको नेतृत्वमा उद्धारमा खटिएका टोलीले २ दिनपछि मात्रै १३ जनाको शव आज सोमबार फेला पारेको हो।

दुईजनाको खोजी भइरहेको छ। प्रतिकूल मौसम र वर्षाले गर्दा कर्णाली राजमार्गको ठाउँ ठाउँमा पहिरो जाँदा खोजीमा समस्या आएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज फेला परेको शवमध्ये नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित तिलागुफा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष परबहादुर शाही र सोही वडाका ६३ वर्षीय धनबहादुर शाही, ३६ वर्षीया छत्रबहादुर शाही, २८ वर्षीय खगेन्द्रबहादुर शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भानबहादुर शाही, ४१ वर्षीय मोतीलाल शाही, २४ वर्षीय नरेशबहादुर शाही र २३ वर्षका प्रशान्त शाही रहेका छन्। मृतक सबै वडा नं. ४ राँचुलीकै रहेका छन्।