
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं ११ मा रहेको शिव मावि धुलियाविटले बादी समुदायका बालबालिकाका लागि आफ्नै स्कुल बस संचालनमा ल्याएको छ । ११ नं वडा कार्यालयको अनुदानमा स्कुल बस खरिद गरी सञ्चालनमा ल्याइएको हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी र उपप्रमुख मोहन माया ढकालले बुधबार संयुक्त रुपमा स्कुल बस सञ्चालको उद्घाटन गरेका हुन् ।
शान्तिपुर झुप्रामा बस्दै आएका बादी समुदायका बालबालिकाको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले स्कुल बस संचालनमा ल्याइएको हो । वडा कार्यालयको अनुदानमा २४ लाख ७६ हजार ११५ रुपैयाँमा बस खरिद गरिएको हो । विद्यालयका प्राध्यानाध्यापक पूर्ण प्रसाद पौडेलका अनुसार झुप्रामा बस्दै आएका बादी समुदायका ६९ जना बालबालिका उक्त विद्यालयमा अध्ययनरत छन् । केही बालबालिका विद्यालय नजिक बस्ने भएकाले ५६ जना बालबालिकालाई निशुल्क स्कुल बस सेवा उपलब्ध गराइने उनले जानकारी दिए । उनले भने, ‘झुप्रामा नव जीवन प्रावि थियो । प्रावि तहसम्म पढ्ने र त्यस पछि पढाई छोड्ने समस्या भए पछि वडा कार्यालयको समन्वय र सहकार्यमा बादी समुदायका बालबालिकालाई उच्च शिक्षा दिने उद्देश्यले हामीले विद्यालय समायोजन गरेका थियौँ । यातायातलगायतका चूनौतीहरु हामीसँग थिए । हामीले वडा कार्यालयको सहयोग र सहकार्यमा निशुल्क यातायातको व्यवस्था गरेका हौँ ।’
यस अघि विद्यालयले भाडाको बस सञ्चालन गर्दै आएको थियो । शान्तिपुर झुप्राबाट विद्यालयको दुरी ११ किलोमिटर रहेको छ । शान्तिपुरमा रहेको नव जीवन प्रावि दुई वर्ष अघि शिव माविमा समायोजन गरिएको थियो । विद्यालय समायोजन गरे पछि टाढा हुँदा विद्यार्थीहरु अनियमित भए पछि निशुल्क यातायातको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।
स्कुल बस सञ्चालनका लागि कोषको स्थापना गरिएको छ । कोषमार्फत निशुल्क बस सञ्चालन गरिने प्रध्यानाध्यापक पौडेलले जानकारी दिए । कोषमा अभिभावक, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विभिन्न संघसंस्थाहरुको सहयोग भएको र कोषमा सहयोग गर्न पनि सबैलाई उनले आग्रह गरे । बुधबार कोषमा २९ हजार २९५ रुपैयाँ सहयोग जुटेको विद्यालयले जनाएको छ । लभ एण्ड होप नेपालले ५० हजार सहयोग गर्ने पनि प्रविबद्धता व्यक्त गरेको छ ।
उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले स्कुल बस सञ्चालनले विद्यार्थीहरुलाई सहयोग पुग्ने बताउँदै विद्यालयको शैक्षिक विकासको शुभकामना व्यक्त गरे । उनले विद्यार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्न विद्यालयको भूमिका महत्वपूर्ण रहेको भन्दै विद्यालयलाई आगामी दिनहरुमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालले शैक्षिक गुणस्तरका लागि वडा कार्यालय र विद्यालयले गरेको प्रयास उदारणीय रहेको बताइन् । उनले नगरपालिकाले पूर्वाधार विकाससँगै सामाजिक विकासलाई प्राथमिकता दिएको बताउँदै नगरपालिकालाई शिक्षा र स्वास्थ्यमा अब्बल गराउन लागिपरिरहेको उल्लेख गरिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश परियारको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष नन्दलाल शर्मा, वीरेन्द्रनगर नगर कार्यपालिकाका सदस्य विष्णु बादी, शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतका प्रमुख भोजप्रसाद लम्साल, लभ एण्ड होप नेपालका अध्यक्ष सम्भु शंकर, विद्यार्थी, अभिभावकलगायतको सहभागिता रहेको थियो ।

फरकबाटो २३ चैत्र २०७८, बुधबार १९:५८