प्रहरी समायोजनका लागि प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेतालाई ज्ञापनपत्र

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनका लागि प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाएका छन्।

प्रदेशको नामकरण तथा राजधानी घोषणा भइसकेको भन्दै अस्थायी रूपमा प्रदेश सरकारलाई दिइएको संरचनालाई स्थायी रूपमा हस्तान्तरण गरिदिन मुख्यमन्त्री राउतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ज्ञापनपत्र दिएको हो।

राजधानीको भौतिक संरचना निर्माणको लागि सम्भाव्यताको अध्ययन गर्न गठन गरिएको समितिले प्रदेशको सरकारी संरचना रहेको जनकपुर चुरोट कारखाना (मधेश भवन) र प्रदेशसभा रहेको स्थान लगायतका स्थानमा स्थायी संरचना निर्माणका लागि सिफारिस गरेकोले मधेश भवन, प्रदेशसभा लगायत सिफारिस गरिएका जग्गा प्रदेश सरकारको नाउँमा हस्तान्तरण गर्न अनुरोध गरेका हुन्।

मुख्यमन्त्री राउतले जग्गा हस्तान्तरण गर्नुका साथै स्थायी भौतिक संरचनाका लागि चाहिने आर्थिक स्रोतको व्यवस्थापन गर्न संघीय सरकारसँग माग गरे।

त्यस्तै मुख्यमन्त्री राउतले नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ मा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको एकल अधिकार सूचीभित्र रहेकाले आगामी निर्वाचनअगावै प्रहरी समायोजन गरिदिन अनुरोध गरेका  छन्।

‘प्रहरी समायोजन ऐन तथा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी व्यवस्था गर्न संघीय ऐन समेत बनिसकेको छ। अतः कानूनी व्यवस्थाको आधारमा अगामी निर्वाचनअगावै नै प्रहरी समायोजन गरी हस्तान्तरण गर्न तथा जिल्ला प्रशासनलाई प्रदेश सरकार मातहत ल्याउन आवश्यक निर्णय तथा निर्देशन दिई पहल गरी दिनु हुन सादर अनुरोध छ’, मुख्यमन्त्री राउतले बुझाएको ज्ञापनपत्रमा लेखिएको हो।

प्रधानमन्त्रीसहित गठबन्धन दलभित्रका शिर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री सहित प्रदेशका मन्त्रीहरू र मुख्य न्यायाधिवक्ता उपस्थित थिए।