हिंसा न्यूनिकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न


सुर्खेत । अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनिकरण सम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । नेपाल अपाङ्ग महिला संघको आयोजनामा अपाङ्गता भएका महिला नेतृत्व र सरोकारवालाका लागि सोमबार वीरेन्द्रनगरमा तालिम सम्पन्न भएको हो ।

कर्णालीका तीन जिल्ला सुर्खेत, दैलेख र जुम्लाका १० वटा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र अपाङ्गता भएका महिला नेतृत्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा दैलेखको डुङगेश्वर गाउँपलिका उपाध्यक्ष सिता ज्ञावलीले अपाङ्गता भएका महिलाहरुको सवालमा आफुले गाउँपालिकाबाट सक्दो सहयोग गर्ने बताइन् । उनले अपाङ्गता भएका व्यक्तिहरुको वर्गाीकरण गर्ने कार्य पनि सुधार गर्नुपर्ने जोड दिइन् ।

नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टिका दाहालले अपाङ्गता भएका महिलाहरु विभिन्न हिंसाको जोखिममा रहेकोले सरोकारवालाहरुले आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले अपाङ्गता भएका महिलाहरुको शसक्तिकरणका लागि सबै सरकारवालाहरुले प्रतिवद्ध हुनु पर्ने बताउनुभयो । अपाङ्गता भएका महिलाहरु माथि हुने राजनीतिक, आर्थिक, सामाजिक र यौन हिंसा विरुद्ध आवाज उठाउन कार्यक्रमले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरेको छ ।

नेपाल अपाङ्ग महिला संघका महासचिव मिना पौडेलले अपाङ्गता भएका महिलाहरु अवसरबाट बञ्चित र विभिन्न हिंसा भोग्न बाध्य भएकोले यसतर्फ सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको बताइन् । उनले अपाङ्गता भएका महिलाहरु माथि हुने हिंसा न्यूनिकरणका लागि मुख्य भूमिका स्थानीय तहको हुने बताइन् ।

उनले भनिन्, ‘महिला भित्रको विविधताको कुरा गर्दा अपाङ्गता भएका महिलाहरु हिंसाको जोखिमा छन् । स्थानीय सरकार नजिकको सरकार भएकाले मुख्य जिम्मेवार स्थानीय निकाय हुन्छ । स्थानीय तह, स्थानीय अधिकारकर्मीहरुले समन्वय गरेर सवालमा काम गर्नुपर्छ । त्यसैले हामीले तालिमको आयोजना गरेका हौँ ।’