नवनियुक्त उद्योगमन्त्री शाहीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले उद्योगमन्त्री वीरबहादुर शाहीलाई आज पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

साउन २३ गते निवर्तमान उद्योगमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) को ६ महिने पदावधी सकिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले सम्हाल्दै आएका थिए ।

आइतवार मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिशमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुख तिलक परियारले नियुक्त भएका नवनियुक्त मन्त्री शाहीलाई धारा १७२ बमोजिम उनीसमक्ष शपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त मन्त्री शाहीको शपथ ग्रहणसँगै आठ सदस्यीय कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । शाहीले आजै मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।