विद्यालय बन्द हुँदा बाल मनोविज्ञानमा असर


सुर्खेत । कोभिड महामारीका कारण विद्यालय बन्द हुँदा बाल मनोविज्ञानमा असर परेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लामो समयसम्म विद्यालय नखुलेपछि अध्ययनप्रति बालबालीकाको रुचि हराउँदै गएको उनीहरुले बताएका हुन् ।

शिक्षा पत्रकार समूह, सेभ द चिल्ड्रेन र किर्डाक नेपालको सहकार्यमा आयोजना गरिएको शिक्षा संवादका सहभागीहरुले यस्तो बताएका हुन् । ‘कोभिडले शिक्षामा पारेको असर र विद्यालय पुनः सञ्चालनको अवस्था’का विषयमा कालीकोटको शुभकालिका गाउँपालिकामा आयोजित कार्यक्रमका सहभागी तथा वक्ताहरुले विद्यालय बन्द हुँदा विद्यार्थी फुर्सदिलो बनेकाले मानसिकता बदलिएको बताए ।

शुभकालिका गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज आचार्यले कोभिड महामारीमा विद्यालय बन्द हुँदा बालवालिकाको सिकाई स्तर खस्किएको बताए । गृहकार्य, अतिरिक्त क्रियाकलापमा समेत बालीबालीका कमजोर बन्दै गएको उनको भनाई थियो । उनले पछिल्लो समय कोभिड महामारीको अवस्था सामान्य बन्दै गएपछि भदौदेखि नियमित रुपमा विद्यालयहरु सञ्चालन गरिएको बताए । विद्याय पुनः सञ्चालन भएपछि गाउँपालिका भित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सामग्रीका लागि प्रति विद्यार्थी २०० रुपैयाँ विद्यालयको खातामा हाल्ने व्यवस्था गरिएको समेत जानकारी दिए ।

कोभिडका बेला विद्यालयहरुमा भवन निर्माण, पुराना भवनहरुको पुनर्निर्माण जस्ता कार्यलाई निरन्तरता दिईएको शिक्षा शाखा प्रमुख आचार्यले बताए । । कोभिडको समयमा पनि बालवालिकाको सिकाई निरन्तरताका लागि स्वअध्ययन सामग्री वितरण, स्वयम्सेवक शिक्षक परिचालन गरी टोल कक्षा सञ्चालन जस्ता कार्य गरिएको उनले बताए ।

कार्यक्रमका वक्ता कालिका माध्यमिक विद्यालयका प्राधाानाध्यापक सरस्वती बस्नेतले विद्यालय पुनः सञ्चालनका क्रममा तोकिएका मापदण्डहरु पालना गर्ने अभ्यास गरिएको बताइन । पूर्वाधार अभावका कारण कक्षाकोठामा बसाइँ व्यवस्थापन गर्न सकस भएको उनले सुनाईन् ।

शिक्षा संवादको खुला छलफलमा सहभागीहरुले विद्यालय पुनः सञ्चालनको अवस्थाबारे गाउँपालिकाले पनि अनुगमनलाई तिव्रता दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख वक्ता शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाइँले बालवालिका र उनीहरुको सिकाई निरन्तरतालाई पहिलो प्राथमिकतामा राखिएको बताए । अहिलेको जस्तो अवस्था कोभिडको तेस्रो चरणले पनि पार्ने अनुमान गरिएकोले यसलाई मध्यनजर गर्दै गाउँपालिकाले तयारी गरेको उनले बताए । त्यो अवस्थामा वैकल्पिक विधिको सिकाईलाईलाई बढावा दिने, लामो समयसम्मका लागि स्वयमसेवक शिक्षक परिचालन, मनोपरामर्श सेवा सञ्चालन जस्ता कार्य गर्ने उनले जानकारी दिए ।

विद्यालयहरुमा पूर्वाधार निर्माणका काम कोभिडको बेला पनि निरन्तर गरिएको बताउँदै अध्यक्ष चौलागाइँले गाउँपालिकाले विपद् प्रतिकार्य योजना बनाएर कार्यान्वयनमा जोड दिईएको बताए ।