सुर्खेत । चितवनका भिम बहादुर विश्वकर्माका हत्यारालाई कारबाहीको माग गरिएको छ । नेपाल दलित मुक्ति संगठन कर्णाली प्रदेश कमिटिले विश्वकर्माका हत्यारालाई कारबाहीको माग गरेको हो ।
चितवनको भरतपुर नगरपालिका ४ का ५८ वर्षीय विश्वकर्मालाई असोज २८ गते मन्दिरमा पुजा गर्न पाउनुपर्ने माग राख्दै गर्दा कुटपिट गरी हत्या गरिएको थियो ।
स्थानिय दुर्गा मन्दिरमा बोकाको बलि चढाउन पाउनुपर्ने भन्दै मन्दिर प्राङगणमा आवाज उठाएका विश्वकर्मालाई सोहि स्थानका सिताराम बस्नेतले असम्भव कुरा गरेको भनी कुटिपिट गरि हत्या गरेको कमिटिले विज्ञप्तिमा उल्लेख गरेको छ ।
कमिटिका प्रदेश इन्चार्ज बसन्तकुमार विश्वकर्माले स्थलगत अनुगमनका क्रममा भिमबहादुर विश्वकर्मालाई मन्दिरमा पुजा गर्न पाउनुपर्ने विषयमा आवाज उठाउँदा हत्या गरिएको खुलेको बताए । स्थलगत अनुगमनका लागि नेपाल दलित मुक्ति संगठन बाग्मती प्रदेश सह–इन्चार्ज चक्र रुचालसहितको टोली गई भिमबहादुरको हत्या पुजा गर्ने विषयमै भएको निष्कर्ष निकालेको कर्णाली प्रदेश इन्चार्ज विश्वकर्माले जानकारी दिए ।
भिमबहादुर विश्वकर्माका हत्यारालाई कानुन बमोजिमको कारबाही र पिडित परिवारलाई उचित क्षतीपुर्ति दिनुपर्ने सोमबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
जातिय विभेद दण्डनिय हुँदाहुँदै पनि सार्वजनिक स्थलमै जातिय विभेद गरी हत्या गर्नेलाई कडा भन्दा कडा सजायको मागसहित विज्ञप्ति प्रकाशन गरेको विश्वकर्माले बताए । उनले भिमबहादुरले न्याय नपाए नेपालका अन्य दलितहरु समेत फेरी यसैगरी मारिनुपर्ने चिन्ता व्यक्त गरे ।


फरकबाटो २ कार्तिक २०७८, मंगलवार ०९:३१