एकीकृत समाजवादी कर्णालीको अध्यक्षमा थापा


सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मर बहादुर थापाले पाएका छन् ।

थापा हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री समेत रहेका छन् । दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापाले गत वैशाखमा एमालेमै हुँदा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए पछि उनको पद गुमेको थियो ।

त्यस पछि उनले मन्त्री पद पाएका थिए । थापा हाल सांसद नरहेकाले मन्त्री पदको समयावधि पनि केही दिन पछि सकिँदै छ ।

समाजवादीले यसअघि प्रकाश ज्वालालाई कर्णाली प्रदेश इञ्चार्जको जिम्मेवारी दिइसकेको छ । उनले पनि एमालेमै हुँदा ‘फ्लोर क्रस’ सांसद पद गुमाउनु परेको थियो ।

प्रदेश सह–इञ्चार्ज चन्द्रबहादुर शाही, हंस शाही, शेरबहादुर केसीले पाएका छन् भने ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको छ ।