वीरेन्द्रनगरको आपतकालीन कार्य संचालन केन्द्र तयार

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले जिल्लामै पहिलो आपतकालीन कार्य संचालन केन्द्र तयार गरेको छ । आगामी फागुन महिनामा सो केन्द्रको औपचारिक रुपमा उद्घाटनसमेत गरिनेछ । वीरेन्द्रनगर नगरपालिकाभित्र हुने विपदका घटनाहरु न्यूनीकरण तथा रोकथामका लागि विभिन्न गतिविधिहरु, प्रयासहरु अव यही संचालन केन्द्रबाट हुनेछ ।

केन्द्रमा कम्तीमा सात दिनका लागि पुग्ने खाद्यान्न तथा पानीको मौज्दात वा पूर्तिको सुनिश्चितताको तथ्यांक रहनेछभने आपतकालीन समयको लागि चाहिने अत्यावश्यकीय औषधि, महिला तथा शिशुलाई आवश्यक सेनिटरी प्याड, डाइपरजस्ता सामग्री राखिनेछ ।

यस्तै केन्द्र संचालनका लागि आवश्यक कार्यालय तथा मसलन्द सामग्री, आतकालीन समयमा उद्धारका लागि आवश्यक अन्य सामग्री, सूचना संचारका लागि आवश्यक टेलिफोन, रेडियो सेट, सेटलाइट फोन, कम्प्यूटर, इन्टरनेट, प्रिन्टरलगायत रहनेछ ।

उक्त कार्य संचालनका लागि नगरपालिकाले स्थानीय आपतकालीन कार्य संचालन केन्द्र कार्य संचालन विधिसमेत अन्तिम चरणमा तयार गरेको छ । नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक टोपबहादुर दर्लामीको संयोजकत्वमा गठित कार्यदलले तयार नेपालको सहयोगमा सो विधि निर्माण गरी अन्तिम ड्राफ्ट पनि तयार गरेको छ । उक्त विधिमाथि मंगलवार सरोकारवाला निकायसँग सुझावसमेत संकलन गरिएको छ ।

विधिमा पूर्व तयारी, प्रतिकार्य व्यवस्थापन, पूर्व सूचना, सुरक्षा, सूचना तथा संचार, द्रुत क्षति लेखाजोखा, केन्द्र रहने स्थाना, व्यवस्थापन कर्मचारीलगायत विभिन्न विषयहरु उल्लेख गरिएको छ । नगरपालिकाले संचालन गर्ने केन्द्र संचालनका लागि नगर कार्यपालिकाका प्रमुखको संयोजकत्वमा निर्देशन समिति हुनेछ । सोही समितिबाट केन्द्र संचालन हुनेछ ।

आपतकालीन कार्य संचालन केन्द्र र कार्यविधि तयार गर्ने वीरेन्द्रनगर नगरपालिका जिल्लामै पहिलो स्थानीय तह बनेको नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । उनका अनुसार केन्द्रपनि तयार भइसकेको र आगामी फागुनमा उद्घाटन गरिनेछ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले संचालन कार्यविधिमा पनि पुनः छलफल गरी कार्यपालिकाको बैठकमा लगिने जानकारी दिए । उनले नगरको विपद न्यूनीकरणको काममा अव यही कार्यविधि अनुसार काम गरिने पनि बताए ।