कर्णालीसहित चार वटा प्रदेशमा वर्षा र हिमपात

सुर्खेत । कर्णाली प्रदेशसहित चार वटा प्रदेशमा वर्षा र हिमपात भइरहेको छ । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले अझै केहि दिन वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम बुलेटिनमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार राती प्रदेश नं १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।