सुर्खेत । सुर्खेतको रातानाङ्ला नजिक फोर्स गाडी दुर्घटना हुँदा तिनजनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा एकजना महिला र दुईजना पुरुष रहेका छन् । उनीहरुको नाम÷ठेगाना खुलिनसकेको प्रहरीले जनाएको छ । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी वीरेन्द्रनगर १४ रातानाङ्ला गुराँस गाउँपालिकाको सिमाना नजिक दुर्घटनामा परेको थियो ।
आज दिउसो करिब सवा दुई बजे गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएस्पी विरेन्द्रविर विश्वकर्माले जानकारी दिए । उनका अनुसार २५ जना घाइते मध्ये एकजनाको अवस्था गम्भिर रहेको छ ।
घाइतेहरुलाई तत्काल गुराँस गाउँपालिका दैलेखको समन्वयमा कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । टर्निङ्मा तिव्र गतिमा र क्षमता भन्दा बढी यात्रु बोकेकै कारण दुर्घटना भएको डिएस्पी विश्वकर्माले बताए । विपरित दिशाबाट आइरहेको कर्णाली प्रदेश ०१–००१च००७४ नंम्बरको स्कार्पियोलाई ठक्करदिई अनियन्त्रित भई सडकबाट करिब तिनसय मिटर तल खसेको प्रहरीको भनाई छ ।
फरकबाटो २२ कार्तिक २०८१, शुक्रबार १७:२२