कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनः ५ वटा अध्यादेश पेस

सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन (नवौं अधिवेशन) को पहिलो बैठकमा विभिन्न पाँच वटा अध्यादेश पेस भएका छन् । बुधबार (आज) बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले अध्यादेश जारी गर्नुपरेको परिस्थिति र कारणसहित अध्यादेश पेस गरेका हुन् ।

बैठकमा कर्णाली प्रदेश विनियोजन अध्यादेश २०७८, कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८, प्रदेश लोकसेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७८, प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश २०७८ र कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश २०७८ सभामा पेस गरिएको हो ।

सभामा पेश भएका अध्यादेश अस्वीकारसम्बन्धी प्रस्ताव पेस गर्न चाहनेका लागि दुई दिनको समय दिइएको कर्णाली प्रदेश सचिवालयले जनाएको छ । यस्तै गत असारमा प्रदेशसभामा पेस भएको कर्णाली प्रदेश विनियोजन विधेयक २०७८ र कर्णाली प्रदेश आर्थिक विधेयक २०७८ फिर्ता लिनका लागि पनि मन्त्री विष्टले सभामा प्रस्ताव पेस गरेका छन् ।

उक्त प्रस्ताव अस्वीकार गर्नका लागि अर्को बैठकमा समय उपलब्ध गराइने छ । प्रदेशसभाको अर्को बैठक माघ २ गते दिउँसो ३ बजे बस्नेछ ।