कर्णालीका तीन जना मन्त्रीको आज पदावधि सकिँदै


सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै छ । नेकपा समाजबादी पार्टीका तीन जना मन्त्रीहरुको पदावधि आजदेखि सकिने भएको हो ।

 भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा आजदेखि पदमुक्त हुँदै छन् । उनीहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त भएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत दिए पछि बैशाख ४ गते मन्त्रीमा नियुक्त भएका उनीहरु एमालेले कार्वाहीमा गरे पछि फेरी बैशाख १५ गते गैरसांसद रुपमा मन्त्रीको सपथ खाएका थिए । गैरसांसद छ महिना भन्दा बढी मन्त्री बन्न पाउने कानुनी व्यवस्थाका अनुसार उनीहरु पदमुक्त हुन लागेको हुन । अहिले एमाले विभाजन भए पछि उनीहरु नेकपा (एकिकृत समाजबादी) मा छन् ।

आज तिन जना मन्त्री पदमुक्त भए पनि रिक्त रहेको ठाउँमा आफुहरुले नै मन्त्री पठाउने समाजबादी पार्टीले बताएको छ । समाजबादीकी सांसद देवी ओलिले रिक्त रहेको मन्त्री पदमा समाजबादीबाट नै तिनै जना पठाइने बताइन । अहिले कर्णाली प्रदेश सभामा समाजबादीका तीन जना सांसद छन् । सांसद देवी ओलीले तीन मन्त्रालय नछोड्ने बताइन । उनले भनिन्, ‘ काुननी रुपमा उहाँहरुको पद आजबाट स्वतः सकिन्छ । खालि भएको तीनै ठाउँ हामीले छोड्दैनौँ । तीन जना मन्त्री समाजबादीबाट सरकारमा जान्छन् । उनीहरुको ठाउँमा सांसद ओलिसहित चन्द्र बहादुर शाही र पदम रोकाय जाने चर्चा रहेको छ ।
यसो त कर्णालीमा सत्ता हस्तान्तरणको चर्चा पनि चलेको छ । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिँदा माओवादी केन्द्र र काँग्रेसबिच छ महिना पछि मुख्यमन्त्री काँग्रेसलाई दिने सहमति भएको थियो । उक्त सहमति अनुसार मुख्यमन्त्री अब आफुले पाउनुपर्ने काँग्रेसले बताउँदै आएको छ । यदि सहमति कार्यान्वयन भएको अवस्थामा काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने छन् । यद्यपी मुख्यमन्त्री शाहीले केन्द्रको गठबन्धनबाट आउने निर्देशन अनुसार नै हुने बताउँदै आएका छन् ।