सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्दै

काठमाडौं । आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ ।

बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सत्ता साझेदार दलहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसदको अवरोध खुलाउने विषयमा पनि छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यद्यपि आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव नै बैठकको मुख्य एजेण्डा रहेको स्रोतले बतायो । सत्ता साझेदार दलहरु गठबन्धन बनाएर निर्वाचनमा जाने तयारीमा छन् ।