बाबुराम भट्टराईद्वारा चुनाव नलड्ने घोषणा

सुर्खेत । डाक्टर बाबुराम भट्टराईले आउँदो चुनाव नलड्ने घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै २०६४, २०७० र २०७४ सालको संविधान सभा र प्रतिनिधि सभा चुनावमा अत्यधिक मतले विजयी गराएकोमा गोर्खाली मतदातालाई धन्यवाद दिँदै भट्टराईले आउँदो मंसिर ४ गतेको चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

आफ्नो कार्यकालमा गोर्खाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही सुरु भएका महत्वपूर्ण आयोजना पूरा हुने चरणमा रहेको भट्टराईले दाबी गरेका छन् ।

अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोर्खालाई देशकै नमूना विकासको केन्द्र बनाउन संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने भट्टराईको भनाइ छ ।

चुनाव नलड्नु भनेको राजनीति छोड्नु नभएको भन्दै भट्टराईले अब सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति भने छाडेको स्टाटसमा लेखेका छन् ।