विषय प्रवेश
सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ कार्यक्रम नै भर्चुअल सिकाइ हो । वेभको प्लेटफर्म भर्चुअल कक्षा हो । यो विद्युतीय सिकाइ हो । यो अनलाइनमा आधारित सिकाइ हो । सूचना र सञ्चारका साधनहरु र त्यसको प्रयोगमार्फत शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया गर्ने, खुला र लचकदार प्रक्रियामार्फत इन्टरनेट, सिडीरोम, भिडियो कन्फरेन्सिङ, सफ्टवेयर लगायतका अन्य सञ्चारका माध्यमहरु प्रयोग गर्दे व्यवस्थित सिकाइ अनुभवसहित आवश्यक श्रोत साधनयुक्त कक्षा कोठाभित्रको सिकाइ प्रक्रिया भर्चुअल सिकाइ हो ।
कक्षाकोठाको सिकाइमा इन्टरनेटको जडान गरी सिकाइलाई प्रविधिमैत्री, खुला र विश्वव्यापी बनाउने आधुनिक औजार भर्चुअल सिकाइ हो । तसर्थ ‘लाइभ कक्षा’वा रेकर्ड गरिएको श्रव्य दृष्य सामग्रीमार्फत् विषय शिक्षक नभएका विद्यालयका हजारौं विद्यार्थीले इन्टरनेटको माध्यमबाट आफ्नो विद्यालयको कक्षाकोठामा बसेर पढ्न पाउने आधुनिक सिकाइ प्रविधि भर्चुअल सिकाइ हो ।
आर्थिक बर्ष २०७२।०७३ देखि साविकको शैक्षिक जनशक्ति विकास केन्द्रले ब्रोडब्याण्ड इन्टरनेटका माध्यमबाट अंग्रेजी, गणित विज्ञान विषयको अध्यापन गर्न शुरू गरेको यस कार्यलाई निरन्तरता दिदै आ. ब .२०७३।०७४ मा १०० वटा र आ. ब. २०७४।०७५ मा ६५ गरी १६५ वटा विद्यालयमा Multicasting प्रविधिबाट ब्याण्डविथ शुल्कसहित प्रविधिगत उपकरण जडान गरी भर्चुअल कक्षाको प्रारम्भ गरिएको थियो ।
तत्पश्चात उक्त केन्द्रद्वारा गठित कार्यदलको प्रतिवेदनको सुझाव अनुसार हाल Broadcasting System बाट शिक्षा तथा मानव श्रोत विकास केन्द्रले कक्षा १० का अनिवार्य ६ वटा विषयमा ५४२ र कक्षा ९ का अनिवार्य ६ वटा विषयमा ४०० वटा पाठहरु उत्पादन गरी नेपाल टेलिभिजनबाट प्रसारण गरिरहेको थियो । हाल कोभिड १९ को शिक्षा क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गरी शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै कक्षाका बालबालिकाहरुका लागि सिकाइ सहजीकरणमा सहयोग पुग्ने उद्देश्यका साथ सिकाइ पोर्टल निर्माण गरेके छ भने रेडियो तथा टेलिभिजनबाट सिकाइका कार्यक्रमहरु योजनाबद्ध ढंगले सञ्चालन गरिरहेको छ ।
कक्षा ९ र १० का उत्पादित भर्चुअल पाठहरु यूटुवमा राखी विद्यार्थी तथा शिक्षकहरुले आफ्नो आवश्यक्तानुसार हेर्न सक्ने व्यवस्था समेत गरिएको छ । शुरुमा साविकको शैक्षिक जनशक्ति विकास केन्द्रबाट एकोहोरो प्रणालीबाट विकसित र सञ्चालन भएको भर्चुअल कक्षा र सिकाइ हाल पछिल्लो समयमा आएर दोहोरो सञ्चार प्रणालीबाट सञ्चालन गर्ने अभ्यास भईरहेको देखिन्छ । कर्णाली प्रदेशअन्तर्गत सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाले दोहोरो सञ्चार प्रणालीको प्रयोग गरी आफ्नो नगरपालिका क्षेत्रका पाँच वटा माध्यमिक विद्यालयका नौं वटा कक्षामा कक्षा दशको अंग्रेजी, गणित र विज्ञान विषयको भर्चुअल सिकाइको व्यवस्थापनको परीक्षण गरिरहेको छ । उक्त कार्यक्रमलाई विस्तारै वीरेन्द्रनगर नगरपालिकाले समेत सञ्चालनमा ल्याएको थियो ।
केही वर्ष अगाडि ओएलइ नेपाल नामक संस्थाको सहयोगमा ‘वानचाइल्ड, वान ल्यापटप’ अर्थात् ‘एक विद्यार्थी, एक ल्यापटप’ भनी केही जिल्लामा ल्यापटप वितरण गरिएको थियो । तत्पश्चात साविकको शिक्षा विभागले माध्यमिक र निम्न माध्यमिकत तह सञ्चालन भएका विद्यालयहरुका लागि जोडकोष अनुदानको रुपमा एक लाख चालिस हजार उपलब्ध गराएर Internet Connectivity कार्यक्रम सञ्चालनमा ल्यायो तर प्रभावकारी हुन सकेन ।
मानव श्रोतको व्यवस्थापन र भौतिक पूर्वाधारको व्यवस्थापन विना वितरण गरिएको यो कार्यक्रमले कुनै उत्पादन दिन सकेन । पछिल्ला समयमा आएर विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगशाला निर्माण गर्न माध्यमिक विद्यालयहरूलाई ६ लाख पचास हजार उपलब्ध गराईन्छ जसले पनि कक्षाकोठाको सिकाइमा इन्टरनेट जोडिन सकेको अनुभूति गर्न सकिएको पाइदैन ।
पछिल्लो समयमा कोभिड १९ ले बालबालिकाको सिकाइमा पारेको प्रभावलाई दृष्टिगत गरी आधारभूत र माध्यमिक विद्यालयहरुमा इन्टरनेट जडान गर्नका लागि प्रति विद्यालय १२ हजारका दरले अनुदान समेत उपलब्ध गराइएको छ । प्रदेश तथा स्थानीय तहहरुले आफ्नो क्षमता र श्रोत साधनका आधारमा रेडियो अनलाइन कक्षा र अन्य ब्लेण्डेड सिकाइका विभिन्न प्रयासहरु गरेको अवस्था छ ।
नीतिगत प्रावधान
पन्ध्रौं योजनामा डिजिटल डिभाइड न्यूनिकरण गर्ने, सूचना प्रणालीलाई सुदृढीकरण गर्ने र प्राथमिक तहदेखि उच्च शिक्षासम्मको शिक्षण सिकाइ प्रक्रिया तथा शिक्षक तालिममा कम्प्युटर सीप उपयोग गर्ने र यसका लागि पूर्वाधार र मानवीय क्षमता विकास गर्ने नीति उल्लेख गरिएको छ ।
राष्ट्रिय शिक्षा नीति, २०७६ ले संघीय तथा प्रदेशस्तरमा रहने पाठ्यक्रम विकास केन्द्र तथा शिक्षक तालिम प्रदायक निकायबाट इ लाइब्रेरी, भर्चुअल ल्याब, भर्चुअल कक्षाकोठा र शिक्षण सिकाइमा आधारित एप्सहरुको विकास गरी प्रयोगमा ल्याइने नीति उल्लेख गरेको छ ।
विद्यालय क्षेत्र विकास योजनाले अघि सारेका दशवटा प्राथमिकतामा सूचना तथा सञ्चार प्रविधि अन्तर्गत आवश्यक पूर्वाधार तयार गरी सूचना तथा सञ्चार प्रविधिलाई माध्यमिक तहका शिक्षाको निम्ति अनुकूल सिकाइ वातावरण विकास गर्ने,पेसागत क्षमता विकासका प्याकेज तथा निर्देशिका निर्माण गरी माध्यमिक शिक्षा पाठ्यक्रममा सूचना तथा सञ्चार प्रविधिको समायोजन गर्ने, शिक्षकहरूलाई शिक्षण सिकाइका क्रममा सूचना तथा सञ्चार माध्यमको प्रयोगको लागि प्रशिक्षित गर्ने, विज्ञान, गणित र अंग्रेजी विषयमा अनलाइन तथा अफलाइन तालिम कोर्स र सामग्री विकास गर्ने, प्रारम्भमा विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षण सिकाइ सामग्री विकास गर्ने र शिक्षक तथा विद्यार्थीका लागि विषयगत रूपमा विद्युतीय स्रोतको विकास र तिनको भण्डारणको व्यवस्था गर्ने रणनीतिहरु अगाडि सारिएको छ । संघ, प्रदेश र स्थानीय तहहरुमा एकैचोटि निर्माणको क्रममा रहेको शिक्षा क्षेत्र योजनामा समेत भर्चुअल वा अनलाइन सिकाइले महत्वपूर्ण स्थान पाएको छ ।
उद्देश्य र औचित्य
भर्चुअल कक्षाको मुख्य उद्देश्य नै शिक्षणमा पहुँच र गुणस्तर अभिबृद्धि गर्नु हो । यसका अलावा शिक्षण प्रक्रिया र शिक्षक तालिम कार्यको कक्षा कोठामा प्रयोग गर्न, समावेशी, एकिकृत, सहकार्यात्मक, सिर्जनात्मक, समालोचनात्मक र समस्या समाधानमुखी शिक्षण अभ्यासको थालनी गर्न, शिक्षकको विकल्पको रुपमा प्रयोग गर्ने र प्रविधिमैत्री सिकाइ प्रदान गर्ने भर्चुअल सिकाइका अन्य केही उद्देश्यहरु हुन् ।
भर्चुअल सिकाइको प्रयोगले शिक्षक र विद्यार्थीको सिकाइ प्रणालीलाई सहज तबनाएको छ नै, साथसाथै सिकाइ स्तरलाई अन्तर्राष्ट्रियकरणसमेत गरिदिएको छ । विद्यालयहरुमा ई–क्लास, भर्चुअल क्लास, टेक्नो ल्याब, स्मार्टबोर्ड, ई–पाटीलगायतका प्रविधिहरु भित्रिएका छन् । यो पेडागोजीमा आएको रुपान्तरण हो ।
कक्षा कोठाको शिक्षण सिकाइमायस्ता प्रविधिको प्रयोगले सिकाइ प्रणालीलाई सरल, व्यवहारिक, मनोरञ्जक रचिरस्थायी बनाउने गर्दछ । समयसापेक्ष शिक्षा, प्रतिस्पर्धी जनशक्ति, शैक्षिक रुपान्तरण र व्यवहारिक सिकाइ सीपको विकास रविस्तारका लागि समेत सिकाइमा नविन प्रविधिको प्रयोग अत्यावश्यक रहेको देखिन्छ ।
विद्यालयको कक्षाकोठाको चौघेराले वा ४५ मिनेटका दरले हुने दैनिक सात घण्टी पढाइले मात्रै विद्यार्थीहरुको सिकाइ भोक र तलतल थेग्न नसक्ने निश्चितदेखिएको छ । गुम्बा, मदरसा र गुरुकुलबाट विकास हुँदै आएको हाम्रो सिकाइप्रणालीलाई अन्तर्राष्ट्रिय सिकाइसँग जोड्नसमेत प्रविधियुक्त पढाइ आवश्यकदेखिन्छ । शिक्षक र विद्यार्थीमा अनुसन्धान रखोज गरेर सिक्ने बानीको समेत विकास गर्नमा प्रविधिले सहयोग पुर्याउँदछ ।
कम्प्यूटर, इमेल, इन्टरनेट त शिक्षणसिकाइको लागि बरदान सावित भएका छन् । शिक्षकलाई सम्बन्धित विषय र शीर्षकमाअत्यन्त नवीन ज्ञान प्राप्त गर्नदेखि विद्यार्थीले सिकेको ज्ञानलाई स्थायीबनाउन, नयाँ–नयाँ विषयमा ज्ञान आर्जन गर्न इन्टरनेटको प्रयोगले निकै सहयोग पुर्याउँछ । कक्षाकोठा शिक्षणको लागि कुनै पनि यस्तो विषयवस्तु छैन, जुनसिक्न र सिकाउन कम्प्यूटरले सहयोग नपुर्याओस् ।
सिकाइमा सूचना र सञ्चार प्रविधि
Learning by ICT, Learning with ICT and Learning through ICT सिकाइमा सूचना र सञ्चार प्रविधिका मुख्य तीनवटा सिद्धान्तहरुको समुचित प्रयोगले शिक्षक र विद्यार्थीहरुलाई प्रविधिको माध्यमबाट कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सहज हुन सक्दछ ।
प्रविधिले विश्वलाई एउटा सानोगाउँ र प्रत्येक विद्यार्थी तथाशिक्षकलाई एकआपसमा जोड्ने सेतुको कार्य गर्छ । प्राविधिको माध्यमबाट विश्वको कुनै एउटा कुनामाबसेर अर्को कुनाको समचार तथा ज्ञानका कुरा सहजै हासिल गर्न सकिने र आफ्नाप्रतिक्रियाहरू पनि तुरुन्तै प्रदान गर्न सकिन्छ ।
जब हाम्रा शैक्षिकसंस्थाहरू प्रविधिमैत्री हुन्छन् तब हामीले उत्पादन गरेका विद्यार्थीहरु विश्व वजारमा सहज रुपमा समायोजन हुनसक्दछन् ।
केही अपवादहरु होलान्, तर सत्य के हो भने अहिलेको पुस्ता हत्केलामा प्रविधि बोकेरआफ्ना औँलाहरुमा संसार घुमाइरहेको छ । धूलोट, सिलोट, खरी वा हरियापात र अंगार पिसेर बासको कलमले कालोपाटीमा लेखेको इतिहास सुनाएर नयाँपुस्ता अहिलेको युगको प्रतिस्पर्धी बन्न सक्दैन भन्नेमा हामी सचेत हुन जरुरी छ ।अहिलेको संसार ज्ञानमा अडेको छ । सूचना र प्रविधि दुवैको भूमण्डलीकरणले ज्ञानको दायरालाई फराकिलो तथा सहज पहुँचमा जोड दिएको छ ।त्यसकारण एक्काइसौं शताब्दीले माग गरेको बिश्ववजारमा खपत हुने सिकाइ प्रदान गर्नका लागि कक्षाकोठामा प्रविधिको प्रयोग निर्विकल्प बनिरहेको छ ।शिक्षकद्वारा सिकाइने पद्धतिको विकल्पको रुपमा बलियो रुपमा प्रस्तुत भएको छ ।
चुनौतीहरु
सिकाइमा प्रविधिको प्रयोग आफैमा चूनौतीपूर्ण कार्य हो । विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगका लागि आर्थिक, भौतिक र कार्यक्रमगत चुनौतीहरु धेरै रहेका छन् । कक्षाकोठामा प्रविधिको समुचित प्रयोगका लागि आवश्यक पर्ने श्रोत साधन र तिनको दिगोपना महत्वपूर्ण विषय हुन् ।
शिक्षकको क्षमता विकास र उत्प्रेरणा अर्को जरुर पाटो हो । भर्चुअल कक्षाको व्यवस्थापन र समुचित प्रयोग, पैरवी, प्रचार प्रसार, सचेतना, उपलब्धता, संघ, प्रदेश र स्थानीय तहहरुबीच सामञ्जस्यता, सहयोग, साझेदारी र समन्वय आदिजस्ता विषयवस्तुहरु भर्चुअल सिकाइकामात्र नभएर समग्र प्रविधिमैत्री सिकाइका चुनौतिका विषयहरु हुन् ।
जनशक्ति र आवश्यक पूर्वाधारको अभाव र प्रभावले पार्ने असरले विद्यार्थी विद्यार्थीबीच हुनसक्ने डिजिटल विभेद कम्ति चुनौतीको विषय होइन । बालबालिकाको प्रविधिमा पहुँच र विद्यालय र स्थानीय तहमा मानवीय र संस्थागत क्षमताको विकास समेत अहिलेको समयमा गम्भीर सवाल रहेका छन् ।
निष्कर्ष
गाउँ र शहर, सुगम र दूर्गम तथा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुबीच देखिने डिजिटल डिभाइडलाई कम गर्दै शिक्षामा समानता र न्यायको पूर्ण प्रत्याभूति दिलाउने महत्वपूर्ण अभिभारा हामीसंग छ । सबै बालबालिकालाई २१ औं शताब्दीअनुकूलको बनाई राष्ट्रिय र अन्तरराष्ट्रिय बजारमा विक्न सक्ने बनाउन सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका रहेको छ । खुला सरकार, खुला सिकाइ, दूर शिक्षा जस्ता नविनतम धारणा विश्वमा आइरहेको समयमा सिकाइलाई एउटा पाठ्यपुस्तकमा बाध्नु र नियन्त्रण गर्नु झनै बाल अधिकार विपरीत बन्न नजाला भन्न सकिदैन ।
भर्चुअल कक्षाको माध्यमबाट खुला सिकाइ र दूर शिक्षाको अभ्यास कक्षाकोठामा गर्न जरुरी छ । सबै विद्यालयहरुमा प्रविधिमैत्री सिकाइका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति विकासका लागि तीन वटै तहका सरकारहरु जिम्मेवार र उत्तरदायी बन्नु पर्दछ । शिक्षण पेशाबाट निवृत्त भएका योग्य र अनुभवी शिक्षकहरुबाट भर्चुअल कक्षा सञ्चालन गर्ने वातावरण सिर्जना गरे पक्कै पनि शैक्षिक गुणस्तर उकास्नमा मद्दत पुग्ने विश्वास गर्न सकिन्छ ।
अहिले कोभिड १९ को प्रभाव परेको सन्दर्भमा कक्षाकोठाको सिकाइमा इन्टरनेटको कनेक्टिभिटी गराउन आवश्यक पर्ने रणनीति अवलम्बन गरी मल्टिकास्टिङ र ब्रोडकास्टिङगरी दुबै माध्यमबाट भर्चुअल कक्षाहरु सञ्चालन तथा व्यवस्थापन गरेर शिक्षालाई डिजिटलाइज्ड गराउन सकिन्छ ।विद्यार्थीको सिकाइलाई मनोरञ्जनपूर्ण र दिगोपन बनाउँदै शिक्षकको बोझ कमगर्न तथा विद्यार्थीको आवश्यकता, रुचि, क्षमता र स्तर अनुसार सिकाइ गर्नशिक्षामा नयाँ–नयाँ प्रविधिहरुको विकास गर्नुपर्ने देखिन्छ ।
वास्तवमा भर्चुअल सिकाइ विद्यार्थीहरुलाई वैकल्पिक तरिकाबाट सिक्न सक्ने पूरक सामग्री मात्र नभएर शिक्षक र शिक्षणको एक महत्वपूर्ण विकल्प बनिरहेको छ । भर्चुअल सिकाइ फोर्थ जेनरेशनको अपेक्षा हो । रुचि हो । चाहना हो । आवश्यकता हो । सुशासनको महत्वपूर्ण औजार हो । स्वअनुशासन, नैतिकता र सदाचारिताको मुख्य कडी हो ।
सिकाइमा इन्टरनेट जोड्ने सजिलो मार्ग हो । औपचारिक शिक्षाभित्रको खुला सिकाइ हो । यसको समुचित व्यवस्थापन गर्न सके देशको शैक्षिक गुणस्तर उकास्नमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । सिकाइको गतिलोवैकल्पिक मार्गको रुपमा यसलाई अर्थपूर्ण र प्रभावकारी रुपमा प्रयोग गर्ने सवालमा सबै सचेत र सजक हुन जरुरी छ ।
लेखक सुर्खेतको भेरीगंगा नगरपालिका उपसचिव हुन ।
धिरेन्द्र शर्मा २४ आश्विन २०७८, आईतवार १२:३७