जनताको लामो संघर्ष पश्चात देश संघीयतामा गएको छ । संविधानले मुलुकमा तीन तहका सरकारको व्यवस्था गरेको छ । संवैधानिक व्यवस्थाअनुसार नागरिकले आफ्नो अधिकार प्राप्त गर्न सकिरहेका छैनन् । कानून, नीति, नियम र संविधान पहुँचवालाको पहुँचमा रहेको अनुभुति भएको छ । स्थानीय तह र प्रदेश स्तरमा सुशासनको प्रश्नहरु जनस्तरबाट उठिरहेको अवस्थामा फरकबाटोले आम जनता र आवाज बिहिनको पक्षमा खवरदारी गरी सुशासन र सामाजिक न्याय स्थापनाको लागि प्रतिवद्ध भइ कलम चलाउने छ । कानूनी रुपमा प्रत्याभुत भएका अधिकारहरु समेत जनताले लिन नसक्ने र आफ्नो हकहितको लागी आवाज बुलन्द गर्न नसक्ने भुइमान्छेका लागी फरकबाटो आवाज बनेर खडा हुने छ ।
सार्वजनिक निकायमा सेवाग्राहीले अझै पनि सहजरुपमा सेवा लिन सक्ने अवस्था छैन । सुशासन, पारदर्शिता र जवाफदेहिता हराउँदै गएको छ । हरेक क्षेत्रमा भ्रष्टाचार संस्थागत भएको अवस्थामा “वाचडग”को रुपमा फरकबाटो अनलाइन डटकम रहनेछ । श्रमीक, किसान, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अन्य सिमान्तकृत समुदायका आवाजलाई हामीले समेट्ने छौंं । हामी कर्णालीका दुर्गम क्षेत्रलाई लक्षित गरेर आएका हौंं । दुर्गममा लुकेका कथा र व्यथा हाम्रो मुख्य प्राथमिकतामा पर्नेछन् । सुगमका दुःखका कुरालाई पनि हामीले उत्तिकै स्थान दिनेछौं । साथै सरकार तथा सार्वजनिक निकायका असल अभ्यासलाई समेत हामी स्थान दिनेछौं ।
कर्णाली प्रदेशलाई कार्यक्षेत्र बनाई समग्र सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक तथा जनस्वास्थ्यका विषयमा कलम चलाउने हाम्रो उद्देश्य रहेको छ । कर्णालीको परम्परा र संस्कृतिलाई स्थान दिँदै सामाजिक कुरिती र कुसंस्कारका विरुद्ध हामी उभिनेछौं । विजयादशमीको पावन अवसर पारेर हामी तपाईहरुको माझमा आएका छौ । विजयादशमीको अवसरमा सवै पाठकवर्ग तथा सम्पूर्ण शुभचिन्तकमाँझ हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छौँ । । रचनात्मक सुझावको अपेक्षा पनि हामीहरुले आदरणिय पाठकवर्गहरुबाट गरेका छौं ।
फरकबाटो २६ आश्विन २०७८, मंगलवार १५:०५