फरकबाटोले फरक धार र चिन्तन पकडोस् शुभकामना

यी फुलहरु झर्नलाई फुल्दछन् र उम्रनलाई मर्छन्’ भन्नुमा पहिलो वाक्यले निराशा र दोस्रो वाक्यले आशा जन्माउँछ । कर्णाली प्रदेशको इतिहास अध्ययनले छाती धक्क फुल्ने थुप्रै ठाउँहरू छन् । योगी नरहरिनाथ, रत्नाकर देवकोटा र डाक्टर सौभाग्य शाह जस्ता सशक्त अध्येताहरु कर्णाली क्षेत्रले नै जन्माएको हो ।

शक्तिशाली कर्णाली राज्यको षड्यन्त्रपश्चात्को हारसँगै यस राज्यका नागरिक र यहाँको भूगोलसँग केन्द्र सरकारले लगाएको कु–दृष्टिले व्यवहारमा यस क्षेत्रका नागरिकलाई दोस्रो दर्जाको जस्तो बनाएको छ । जुन आजपर्यन्त कायम छ ।

यही मानसिकता परिवर्तन गराउन आवश्यक छ । त्यसका लागि आलोचनात्मक चिन्तन जरुरी छ ।  आलोचनात्मक चिन्तनसहितका सामग्री फरक बाटोका मुख्य सामग्री बन्ने अपेक्षा छ । पर्याप्त उपयोगी सामग्रीसहित निरन्तर प्रकाशनको शुभकामना छ ।

तीन जुम्ली राजाले धुलो चटाएर प्रतिरोध आन्दोलन गर्दा पनि षड्यन्त्र पुर्वाक चौथोपटक जितेका गोर्खालीहरुले दबाउने रणनीति लिए । परिणाम यस क्षेत्रमा गतिला स्कुल, कलेज र महाविद्यालयहरू खोलिएनन् । फलस्वरूप सांस्कृतिक स्तर निकै कमजोर हुन गयो ।

लामो समय गरिबी, भोकमरी र अशिक्षाको पर्याय बनाइएको यस क्षेत्रका नागरिकहरुको स्वाभिमान, ईमान, इज्जत र वैभवको कुनै मुल्य भएन । कला, संस्कृति जिर्ण बन्यो भने सिर्जनात्मक क्षमता समेत कमजोर भयो । परिणाम कर्णालीको कला र साहित्यले समेत स्थान पाएन । यसबारे न यहाँका टाँठाबाठा भनिएकाले छलफल गरे न केन्द्र सरकार नै गम्भीर बन्न सक्यो ।

तसर्थ, अहिलेको टड्कारो आवश्यकता भनेको इतिहासदेखि हालसम्मको लेखाजोखा र त्यसमाथिको औचित्यपूर्ण बहस हो । जुन यहाँको कला, संस्कृतिको संरक्षण तथा साहित्य र बौद्धिकताको विकासले मात्र सम्भव छ । यसका लागि अध्ययन, लेखन र चिन्तन, मनन् जरुरी छ । त्यसैले कर्णालीको ऐतिहासिक वैभवलाई कायम राख्न फरक बाटो कोशेढुंङ्गा सावित हुने विश्वास छ ।

कर्णाली नेपाली भाषाको उद्गम थलो हो । सिंँजाली खस भाषा वर्तमान नेपाली भाषाको मातृभाषा हो । नेपालको मध्यकालीन इतिहासमा महत्वपूर्ण स्थान ओगटेको कर्णाली अहिलेको नेपालको काठमाडौं भन्दा महत्वपूर्ण क्षेत्रको रुपमा चिनिन्थ्यो ।

मध्यकालमा आर्थिक र सैनिक शक्तिको दृष्टिकोणले सम्पन्न र बलियो कर्णाली गरिबीको रेखामुनि रहेको ठूलो जनसङ्ख्याको हिस्सा ओगटेर पछाडि परेको देखिन्छ ।

साधन स्रोतले सम्पन्न र प्रचुर सम्भावना बोकेर पनि यो क्षेत्र पछाडि परेको तथ्यहरु छन् । के साँच्चै यो क्षेत्र पछि परेकै हो त ? वा पछि पारिएको हो ? उत्तर खोज्न जरुरी छ । यो खोजमा यस क्षेत्रमा विकसित हुँदै गएका संचारमाध्यमहरुले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास छ । फरक बाटो त्यसका लागि नौलो आयाम बन्नेमा आशावादी छु ।

गोर्खाली सेनाले १८४५ मा पहिलोपटक जुम्ला राज्यमाथि आक्रमण ग¥यो । तीन पटकसम्म लगातार हारेको गोर्खाली सेनाले चौथोपटक १८४६ मा जुम्ला राज्यलाई आफ्नो बनायो । विविध जालझेल र षड्यन्त्र गरेर । त्यसयता कर्णाली राज्यलाई केन्द्रीय सत्ताले हेर्ने चस्मा फरक छ । गोर्खाराज्य विस्तार अभियानलाई अवरोध गरेकै कारण हारेको शक्तिलाई दबाउन गोर्खालीहरु सत्तामा रहुन्जेल लागे ।

युद्धमा हारेको शक्तिलाई जितेको शक्तिले सदैव दबाउँछ । यो युद्धपछिको नियम जस्तै हो । देशमा गोर्खाली शाहवंंशीय सत्ता गुमेको पनि १५ वर्ष भैसक्यो । १५ वर्षसम्म पनि काठमाडौंंको सत्ताले कर्णालीलाई गोर्खालीहरूकै पुरानो चस्माले हे¥यो । १२ वर्षमा खेला फिर्छ तर १५ वर्षसम्म पनि सत्ताको चरित्र फेरिएन । उसको नियत फेरिएन । सत्तासीनहरुको सोच फेरिएन ।

भारतमा लामो समय शासन गरेको बेलायती साम्राज्यवादले अन्ततः भारत छोड्नुप¥यो । त्यो अवधिमा बेलायतले भारतीय संस्कृतिमाथि हमला गरिसकेको थियो । परिणाम बेलायतीहरूको प्रभाव रहिरह्यो । आज भारत दक्षिण एसियामा त्यही बेलायती चरित्र देखाइरहेको छ । नेपालमा २३८ वर्ष शासन गरेको र कर्णालीलाई दबाउने मानसिकता भएको सत्ता समाप्त भैसक्दा पनि पुरानै नियति दोहोरिनुले राम्रो सङ्केत गर्दैन ।

शासक फेरिए पनि सत्ताको चरित्र पुरानै छ । श्रीपेच नभए पनि थुप्रै नयाँ राजाको उदय भएको छ । नयाँ शासकहरुका नियतमा गोर्खाली अवतार भएको जनताले महसुस गरिरहेका छन् । परिणाम कर्णालीलाई हेर्ने नजर परिवर्तन हुन सकेन । अब कर्णालीलाई राज्यले देख्ने गरी सत्ताको केन्द्रविन्दुमा ढ्याङ्ग्रो ठोक्न जरुरी छ ।

कर्णालीलाई रोक, भोग, अशिक्षा, अभावको पर्याय बनाइएको छ । हिँजोको शक्तिशाली राज्यका नागरिकलाई फोहोरका पर्यायवाची बनाउन खोजिएको छ । यही निउ बनाएर विभिन्न एनजिओ र आईएनजीओ आएका छन् । जसबाट केही सीमित व्यक्तिले फाइदा लिएका छन्भने सारा गोप्य सूचना विदेशीहरूको हातमा परेको छ । यहाँको प्राकृतिक सम्पदा, नदि नाला, वन सम्पदा, खनिज सबैमा कब्जा जमाउन चलखेल भैरहेको छ ।

यहाँको मौलिकपनलाई मास्न खोजिएको छ । मजबुत उत्पादन प्रणालीबाट परनिर्भरतातिर उन्मुख बनाइएको छ । नागरिकलाई अत्मनिर्भरताको साटो मगन्ते बनाउन खोजिएको छ । यो सब अव्यवस्थाका जिम्मेवार सत्ता सञ्चालक र एनजिओ, आईएनजीओ नै हुन् भनी ठोकुवा गर्न ढिलो भैसकेको छ ।

यी र यस्ता गतिविधि बन्द हुन भएनन् भने, सत्ताको दोसी चस्मा फेरिएन भने, कर्णालीवासीले हिँजोको इतिहासमा छाती चौडा बनाउन पाएनन् भने, शीर ठाडो पारेर हिँड्न र बोल्न सकेनन् भने त्यसले एकदिन विद्रोहको जन्म गराउने छ । हिँजोको शक्तिशाली राज्यको उत्तराधिकारी जन्मिन सक्छ, मध्यकालीन इतिहासको राज्य बिउँताउन सक्छ । यस्तो सन्देश दिन यस क्षेत्रका सञ्चारमाध्यम तेख्रो आखा बन्नेछन् । समग्रमा फुलहरु उम्रनलाई मर्छन् भन्ने खालको आशा जगाउने काम होस्, हार्दिक शुभकामना !