कमला भसिन : पीडायुक्त जीवन, सशक्त संसार

बबिता बस्नेत

सन् १९९९ को अगष्ट २३ तारिखका दिन मैले पहिलोपल्ट कमला भसिनलाई ललितपुरको गोदावरीमा भेटेकी थिएँ । स्त्री शक्ति संस्थाले आयोजना गरेको ‘कन्सेप्चुवल क्लियारिटी अन जेण्डर’ विषयक चारदिने तालिममा उहाँ हाम्रो प्रशिक्षक हुनुहुन्थ्यो । त्यसअघि उहाँको ‘केटा के हो, केटी के हो ?’ पुस्तक पढे पनि उहाँबारे खासै जानकारी थिएन । तालिमको सुरुको दिन अरु नै अभ्यासहरू भएकाले उहाँको बोली सुनिएन, भोलिपल्टदेखि जब सुनियो भुल्नै सकिएन । उहाँका गहकिला शब्दहरू तर्कले भरिएका हुन्थे । समाज, जीवन, सम्बन्धहरू, कामको बाँडफाँड, स्वास्थ्य, शिक्षा, राजनीति, अर्थ, सुरक्षा, आयआर्जन सबैलाई उहाँले लैङ्गिकताको दृष्टिकोणले हेर्नुहुन्थ्यो । जुन कुराहरू मैले त्यसअघि त्यसरी सोचेकै थिइनँ । आधा गाग्री पानीवाला युवा जोश बेला-बेलामा उहाँका अगाडि प्रश्नमार्फत् छचल्काउँथेँ जसलाई तर्कले ए…हो त है…भन्ने बनाइदिनुहुन्थ्यो ।

तालिमकै क्रममा एउटा सेसनमा उहाँले भन्नुभयो- ‘महिलाहरू अरु कसैले राम्रो भनिदिओस् भनेर ‘सजधज’मै कति समय खर्च गर्छन् । महिलाहरूले सल किन ओड्नुपर्‍यो ? कसैले हेरिदेला भनेर ! अगाडि-पछाडि खोलेको ब्लाउज किन लाउनुपर्‍यो ? कसैले हेरिदेओस भनेर ! कपालका बनावट, मेकअप सबै अरुका लागि… अब आफ्ना लागि पनि केही गर्ने बेला भयो केटीहरू… जागो… आगे बढो… कुछ करके देखाओ… अपने आत्मसम्मान के लिए आगे निकलो… किसी का अमानत मत बनो, कम से कम अपने आपको सम्हालो… किसी को कुछ देने के काविल हो जाओ, लेने के लिए नहीं… जब हात निचे होगा तुम्हारा आत्मसम्मान भी निचे ही रह जाएगा… नूर गिर जाएगा… अगर हात उँचे हो तो तुम्हारा आत्मसम्मान भी उँचा रहे जाएगा…!’

उहाँका यी पछिल्ला शब्दहरू मलाई खुब मनपर्‍यो । अघिल्ला पङ्क्तिलाई लिएर प्रतिकार गर्दै भनेँ- ‘तपाईंका यी पछिल्ला भनाइहरू एक प्रशिक्षार्थीका हैसियतमा जीवनमा लागु गर्ने कोशिस गर्नेछु तर महिलाहरू अरुका लागि राम्रा बन्छन् या बनिन्छन् भन्ने कुरामा भने मेरो सहमति छैन ।’ मेरो भनाइ सकिएपछि उहाँले ‘ए, हो ? त्यसोभए कसका लागि बनिन्छन् त भन न मलाई ?’ भन्नुभयो । मैले बडो आत्मविश्वासका साथ भनेँ- ‘आफ्नै लागि… ! ड्रेसअप भनेको त आत्मविश्वास पनि हो नि ।’ ‘के तिमी शनिबार या छुट्टीका दिन घर बस्दा पनि त्यत्तिकै बनिएर बस्छ्यौ जसरी घरबाहिर निस्कँदा हुन्छ्यौ… मेकअप, लुगा, हेयर स्टायल…?’ उहाँको यो प्रश्नले झसङ्ग भएँ, आफूले घर बस्दा लाउने लुगा सम्झिएँ र सानो स्वरमा ‘अहँ.. म त घर बस्दा कपाल पनि कोर्दिनँ’ भनेँ । उहाँले भन्नुभो, ‘अनि आफ्नो लागि राम्रो हुनेले त बाहिर जाँदाभन्दा घर बस्दा राम्रो भएर बस्नुपर्ने होइन र ?’ तर्कमा सहमत हुने र तर्क गर्न मन पराउने मेरा लागि जिन्दगीमा गर्न नसकेको तर्क थियो त्यो ।

लैङ्गिकतासँग सम्बन्धित शिक्षाकी मेरी गुरु कमला भसिन दक्षिण एशियाली धेरै महिला, पुरुष र अन्य लिङ्गीकी गुरु हुनुहुन्थ्यो । तालिम सकिएको दिन मैले लिएको अन्तर्वार्ता ‘नारीवाद पुरुषको विरोध होइन’ शीर्षकमा घटना र विचारमा छापिएको थियो । त्यसपछि तालिम र कार्यक्रमकै सिलसिलामा पटक-पटक उहाँसँग भेट भयो । विषयबस्तुप्रतिको स्पष्टता, तर्क, आत्मविश्वास, आत्मसम्मानपूर्वक बाँच्ने आँट र हिम्मत उहाँबाट सिक्नुपर्ने कुरा थिए । महिलालाई सशक्त बनाउनका लागि उहाँले पुस्तक, कविता, गीत, तालिमलगायतको माध्यम प्रयोग गर्नुभएको थियो । उहाँलाई भेट्दा अन्य मुलुकको नागरिक जस्तो कहिल्यै लागेन । … आज की लडकी पति परमेश्वरकी जगह जीवनसाथी ढुँड रही हे… बेटी होगी निडर जब उसका अपना हो घर… लगायतका स्लोगनहरू मैले धेरैपल्ट उहाँको नाम लिएर तालिमहरूमा प्रयोग गरेँ । कतिपय तालिममा उहाँका अन्तर्वार्ताहरू देखाइयो, देखाइनेछ ।

अपाङ्गता भएका छोरा, देहान्त भएकी छोरी र धोखेबाज पतिबीचको ब्यक्तिगत जीवन बाँचेर कमला भसिन सार्वजनिक रूपमा छोरीहरूको सशक्तीकरणको आवाज बुलन्द गरिरहनुभएको थियो ।

भारत र नेपालमा मात्र होइन बंगलादेश, पाकिस्तान र श्रीलंकामा पनि उहाँ त्यतिकै लोकप्रिय हुनुहुन्थ्यो । कतिपय साथीहरूसँग कुरा गर्दा कमला भसिनबाट तालिम लिएको भनेपछि बुझाइ समान भएजस्तो लाग्थ्यो । पछिल्लो समय टेवा संस्थामार्फत उहाँले नेपालमा कार्यक्रमहरू गर्दै आउनुभएको थियो । महिलाको हैसियत र आत्मसम्मान माथि उठाउन आफ्नो सारा शक्ति र जीवन खर्च गर्नुभएकी कमला भसिनको ब्यक्तिगत जीवन भने निकै दुःखदायी रह्यो । सयौँ महिलाको जीवनमा उज्यालो छर्नुभएकी सशक्तीकरणकी अभियन्ता उहाँको जीवनमा समयले पटक-पटक प्रहार गरिरह्यो । पत्रकार, लेखक तथा अभियन्ता बालजीत मलिकसँग उहाँको विवाह भएको थियो । एक छोरा र एक छोरीमध्ये छोरामा सानैदेखि ओछ्यानबाट उठ्न नसक्ने गरी शारीरिक अपाङ्गता थियो । छोरालाई उहाँ छोटु नामले बोलाउनुहुन्थ्यो । लण्डनस्थित अक्सफोर्ड युनिभर्सिटीमा पीएचडी अध्ययनरत छोरी मितुले सन् २००६ मा आत्महत्या गरिन् । इतिहासको अनुसन्धानमा विद्यावारिधि गर्दै गरेकी मितु डिप्रेशनको शिकार भएकी थिइन् भनेर उहाँले नै सुनाउनुभएको थियो । छोरीले आत्महत्या गरेपछि आमाको अवस्था के भयो होला ? हामी अनुमान गर्न सक्छौँ । छोरीको मृत्युपछि उहाँ केही खस्किनुभएको थियो तर आफ्नो अभियानलाई थप सशक्त बनाउनुभयो । छोरी मितुको नाममा मितु मेमोरियल दक्षिण एशियाली अवार्डको स्थापना गर्नुभयो ।

छोरीको मृत्युको पीडाबाट गुज्रिरहनुभएकी उहाँले आफ्नै पतिबाट अर्को प्रहार खप्नुपर्‍यो । उहाँका पति बालजीतले आफ्नै घरमा सहयोगीको रूपमा रहेकी महिलालाई विवाह गरे । दैनिक ट्रिब्यूनले बालजीतको घरेलु सहयोगीसँग तेश्रो विवाह थियो भनी लेखेको छ । बालजीत मलिकको सन् २०१७ मा निधन भयो । उनका लेख र अभियानका समाचारहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । यसरी अपाङ्गता भएका छोरा, देहान्त भएकी छोरी र धोखेबाज पतिबीचको ब्यक्तिगत जीवन बाँचेर कमला भसिन सार्वजनिक रूपमा छोरीहरूको सशक्तीकरणको आवाज बुलन्द गरिरहनुभएको थियो । महिलाको सशक्तीकरण र आत्मसम्मानको लडाइँ लडिरहेकै बेला उहाँलाई क्यान्सरले आक्रमण गर्‍यो । पितृसत्ताविरुद्धको लडाइँमा सफलताको आधा बाटो पार गर्नुभएकी उहाँ क्यान्सरसँगको युद्धमा पराजित हुनुभयो । यही सेप्टेम्बर २५, २०२१ का दिन ७५ वर्षको उमेरमा उहाँको निधनको खबरले भारत मात्र होइन पूरै दक्षिण एशियाका समानतावादीहरूलाई स्तब्ध बनायो । केही दिनअघिसम्म उहाँ लेखिरहनु, बोलिरहनुभएको थियो ।

सन् १९८४ मा इन्दिरा गान्धीको निधन हुँदा म १३ वर्षकी थिएँ । पूर्वी पहाडमा रेडियो नेपाल भन्दा अलइन्डिया रेडियो स्पष्ट सुनिन्थ्यो । रेडियोमा बारम्बार इन्दिरा गान्धीको नाम सुनेर एक प्रकारको छाप परेको रहेछ । उनको आकृति कहिल्यै नदेखेकी म उनको मृत्युको समाचारले अनायसै रोएकी थिएँ । आफन्तबाहेक कसैको मृत्युमा आँशु झारेको मेरो लागि त्यो जिन्दगीकै पहिलो घटना थियो । कमला भसिनको मृत्युले आँखा मात्र रसाएनन्, मन नै भारी बनायो, बनाइरहेको छ । जिन्दगीले पटक-पटक अनेकौँ परीक्षा लिँदा पनि आफूभित्र दुःखको पहाड बोकेर अघि बढिरहनुभयो । राज्यको कुनै औपचारिक पदबिना पनि ब्यक्तिले समाजलाई कतिसम्म योगदान पुर्‍याउन सक्छ भन्ने कुराको उदाहरण हो कमला भसिन । उहाँको मृत्युसँगै एउटा फरक इतिहासको अन्त्य भएको छ, हार्दिक श्रद्धाञ्जली !

साभारः घटना र बिचार