
जुम्ला । जुम्ला लगायत साविक कर्णालीका पाँच जिल्लामा हिमपात भएको छ । हिमपात भएपछि किसानहरु खुशी भएका हुन् । सुख्खा मौसममा यसरी हिउँ पर्नुले हिउँदे बाली जौ, गहुँ, उवा राम्रो हुने किसानहरुको भनाई छ । हिमपात भएको वर्ष विभिन्न फलफुल आरू, ओखर, स्याउ, नास्पाती लगाएतको उत्पादन समेत राम्रो हुन्छ ।
हिमपातले किसानहरुमा खुसी ल्याएपनि जनजिवन भने कष्टकर बनेको हो । चिसोका कारण स्थानीयबासी घरबाहिरको काममा निस्कन सकेका छैनन् । हिमपात शुरु हुन थालेपछि यातायात, शैक्षिक संस्था र हवाई सेवा समेत प्रभावित भएका हुन् । चिसोले बालबालिका, ज्येष्ठ नागरिक बढी प्रभावितभएका छन् ।
प्रशासनको सहयोगमा चोक–चोकमा दाउरा
हिमपात सँगै बढेको चिसोले जुम्लाको जनजीवन प्रभावित भएको छ । चिसोबाट सुरक्षित रहनको लागि स्थानीय प्रशासनले विभिन्न चोकहरुमा दाउरा उपलब्ध गराएको छ । जुम्लाको विजयनगर, कृष्णमन्दिर, कालेखोलि र बजारका अन्य चोकमा दाउरा उपलब्ध गराईएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले जानकारी दिईन् ।
उनका अनुसार हिमपातको बेला नागरिकको सुरक्षामा खटिएका प्रहरी र नागरिक जम्मा हुने स्थानमा दाउरा फालिएको हो ।
डिभिजन वन कार्यालय जुम्लाले दाउरा सहयोग र नगरपालिकाले सवारी साधन उपलब्ध गराएपछि स्थानीय प्रशासनले चोक–चोकमा दाउरा फालेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रसाईले चिसोले विभिन्न प्रकारका घटनाहरु हुनसक्ने भएकाले सुरक्षित हुन नागरिकलाई आग्रह गरेकी छन् ।

नाैरते नेपाली १४ पुष २०७८, बुधबार १२:१७