कस्ता छन्, दलहरुका चुनावी प्रतिवद्धता पत्रमा श्रमिकका मुद्दा ?

सुर्खेत ।  नेपालमा श्रम तथा रोजगार क्षेत्रको सुधार हुन सकेको छैन् । विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकमाथि ज्यालामा विभेद, पारिश्रमिक नपाउने, रोजगारको ग्यारेन्टी नभएको, आर्थिक, शारीरिक शोषणलगायतका समस्या छन् । श्रमिक संगठनहरुले यी विषयलाई वर्षौंदेखि आफ्नो मुख्य मुद्दा बनाउँदै आएका छन् भने राजनीतिक दलले पनि यी विषयमा कुरा उठाउँदै आएका छन् ।

आफ्नै ठाउँमा रोजगारी नपाउँदा विदेश गएर श्रम गर्नुपर्ने बाध्यता पनि छ । यसै सन्दर्शमा वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दलहरुले ल्याएको घोषणा तथा प्रतिवद्धता पत्रमा श्रम, श्रमिक, रोजगारी र उद्यमशीलता, श्रमलाई सम्मान, सामाजिक सुरक्षालगायतकाका विषय समेटिएका छन् । दलहरुको घोषणा पत्रमा केही राम्रा र उदारणीय कार्यक्रमहरु छन् । तर श्रमिकहरु काार्यन्वयन हुनेमा भने ढुक्क हुन सकेका छैनन् ।

वीरेन्द्रनगरमा नेकपा एमाले श्रमको सम्मान, बालश्रम मुक्त नगर, यूवा तथा स्वरोजगार कार्यक्रम, कृषि उद्योग सृजना गरी रोजगारी उपलब्ध, कृषिमा सहुलितय ऋण, नगर क्षेत्रका औपचारिक र अनौपचारिक श्रमिकहरूको अनिवार्य सूचीकरण गरिनेलगायतका विषयहरु समावेश गरेको छ ।

यस्तै प्रतिवद्धता पत्रमा स्वरोजगार व्यापारी श्रमिकहरूलाई उचित बजार व्यवस्थापन गरी सामाजिक सुरक्षामा समावेश गराइने, नगरपालिका कार्यालयमा श्रमिक हेल्प डेस्क स्थापना गर्ने, नगर क्षेत्रभित्र संचालित उद्योग फर्म, प्रालि तथा प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गरिने, श्रमिक प्रशासन र श्रम विवाद प्रणालीलाई कानुनतहः कार्यान्वयनमा ल्याउन पहल गरिने, श्रम बजार व्यवस्थापनमा नयाँ प्रणाली लागु गर्न पहल गरिने, श्रमिकलाई स्वरोजगार श्रमिकमा रुपान्तरित गर्ने कार्यक्रम ल्याइने, महिला र युवा श्रमिक लक्षित सीप वृद्धि विकास कार्यक्रम ल्याइने, व्यवसायजन्य स्वास्थ्यसम्बन्धी सचेतनामूलक अभियान संचालन गरिने उल्लेख छ ।

नेपाली काँग्रेस वीरेन्द्रनगरले पनि ल्याएको संकल्पमा पनि श्रम, रोजगारलाई पनि समावेश गरेको छ । समान काम : समान ज्याला’लाई कार्यान्वयन गरिने, एक वडा, एक उद्यमशील केन्द्र’को अवधारणा कार्यान्वयन गरिने, वैदेशिक रोजगारमा संलग्न वा फर्केका व्यक्तिहरुलाई विदेशमा सिकेको सीप अनुसारको उद्यम सञ्चालन गर्न प्रोत्साहन गरिने र स्थानीय तहमा उपलब्ध हुने रोजगारका सुचना तथा तथ्याङ्कसहितको ‘रोजगार बैंक’को स्थापना गरिने उल्लेख छ ।

यस्तै रोजगार बैंकमा संकलन भएका तथ्याङ्कको आधारमा सीपमूलक तालिम सञ्चालन गरिने, युवाहरुलाई प्राविधिक तथा व्यवसायीक शिक्षा, तालिम, सीप र सीपको विविधिकरणमा सरिक गराइ व्यवसाय सञ्चालनका लागि बैंक तथा वित्तिय संस्थासँग जोडिने, घरेलु तथा साना उद्योगहरुलाई ठूला खरिदकर्ता र सुपर मार्केटहरुसँग सम्वन्ध स्थापित गराउन सहजीकरण गरिने, स्थानीय रोजगारी सृजना गर्ने उद्योगहरुलाई निश्चित प्रतिशत स्थानीय कर छुटको व्यवस्था गरिने र मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालनमा ल्याइने उल्लेख ।

वीरेन्द्रनगरमा माओवादी केन्द्रले शिक्षा स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको छ । महिला, युवा, दलित, जनजाति, अल्पसंख्यक समुदायको सशक्तीकरण, रोजगारी तथा सहयोगका लागि विशेष प्याकेज तयार गरिने, नगरपालिका क्षेत्रमा एउटा औद्योगिक ग्राम स्थापना गरी कम्तिमा पाँच सय युवालाई रोजगारी सृजना गरिने र नगरक्षेत्र भित्र बसोबास गर्ने हरेक बेरोजगार नागरिकलाई सीप र क्षमता अभिवृद्धि गरी रोजगारीको ग्यारेन्टी गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

नेकपा एमालेले चौकुने गाउँपालिकामा प्रत्येक श्रमिकहरुको सम्मान र प्रत्येक घरधुरीका व्यक्तिहरुलाई रोजगार गराउने उद्देश्यले एक घर एक रोजगार कार्यक्रम, रोजगारीका लागि रोजगार सेवा गठन गरि बेरोजगारी समस्याको अन्त्य गर्नेलगायतका विषयहरु समावेश गरिएको छ ।