
सुर्खेत । एमाले सुर्खेतको जिल्ला अधिवेशनको तयारी थालिएको छ । शुक्रबार सम्पन्न जिल्ला कमिटीको बैठकले यही पुस २३ र २४ गते हुने आठौं जिल्ला अधिवेशनका लागि पुस १७ गते प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।
शनिबार पत्रकार सम्मेलनमार्फत बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अधिवेशन प्रचार–प्रसार समितिले अधिवेशनलाई सफल गराउन तयारी तिव्र गराइएको जानकारी दिएको छ । प्रचार–प्रसार संयोजक गंगाराम तिमिल्सेनाले बैठकले अधिवेशनका लागि पुस १७ गते प्रतिनिधि छनोट गर्ने निर्णय गरेको बताए ।
एमाले सुर्खेतमा १२ हजार दुई सय ८० जना पार्टी सदस्य रहेका छन् । उनका अनुसार सुर्खेतका ९९ वटा वडाबाट करिब छ सय प्रतिनिधि छनोट हुने छन् । अन्य जाती तथा जनजाति क्षेत्रबाट ३० जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधि र दलित क्षेत्रबाट २० जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरिने उनले बताए । यसरी छनोट गर्दा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै बैठकले अधिवेशनलाई सफल बनाउन विभिन्न समिति पनि गठन गरेको छ । एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीको संयोजकत्वमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति र उपाध्यक्ष अमृत बिसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।
यस्तै प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा घनश्याम पाण्डे, हल तथा मञ्च व्यवस्थापन समितिको संयोजकमा हरिहरनाथ योगी, खाना तथा खाजा व्यवस्थापन समितिको संयोजकमा पूर्णप्रसाद पौडेल र स्वंयम्सेवक परिचालन व्यवस्थापन समितिको संयोजक चर्तुभुज शाही रहेका छन् प्रचार–प्रसार समितिको संयोजकमा गंगाराम तिमिल्सेना, र अतिथि सत्कार समिति संयोजक सुशिला बिक रहेका छन् ।
यस्तै बैठकले जिल्ला कमिटीको सचिवालयमा सदस्यहरु थपेको छ । जिल्ला सदस्यहरु गंगाराम तिमिल्सेना, डम्मर तिवारी, यज्ञ ढकाल, हरिहरनाथ योगी र ऋषि गिरीलाई सचिवालय कमिटीमा थप गरिएको हो । खड्क भट्टराई, पूर्णप्रसाद पौडेल, टिकाराम सोमै, सुशिला बिक, बलबहादुर नेपाली, तुलबहादुर सहकारी र जीत बहादुर सिंहलाई पनि सचिवालय कमिटीमा थप गर्ने निर्णय गरिएको छ ।

फरकबाटो १० पुष २०७८, शनिबार २०:५९