जति नै ठूलो गठबन्धन बनाएर आए पनि एमालेसँग कसैको तागत लाग्दैन : ओली

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जति नै ठुलो गठबन्धन बनाएर आएपनि एमालेसंग कसैको तागत नलाग्ने बताएका छन् । मङ्सिर ४ गते हुने चुनाव राष्ट्रियता चाहने कि देशघाती, विकास चाहने कि विनाश अनि स्थिरता कि अस्थिरता चाहनेका बीचमा हुने जिकिर गरेका छन् । यसअघिका चुनावभन्दा आउँदो चुनाव निकै महत्त्वपूर्ण भएको भन्दै मतदाताले एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने उनले धारणा राखे ।

नेकपा एमाले १ नम्बर क्षेत्रीय कमिटीले आज बिहीवार झापाको मेचीनगर नगरपालिका ७ इँटाभट्टामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस क्षेत्रका मतदाताले एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने दाबी गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनमा जान नचाहेको र एमालेसँग मिलेर चुनावमा तालमेल गरेका कारण राप्रपाका उम्मेदवारलाई पनि जिताउन उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मङ्सिर ४ गतेको चुनावले देश र नागरिकको भाग्य र भविष्यको फैसला गर्ने भन्दै समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न पनि देशका सबै क्षेत्रबाट एमालेले जित्नुपर्ने उनले तर्क गरे ।

उनले नागरिकको मन र संसदबाट एमालेलाई ढाल्न नसकेर अन्य दलहरू गठबन्धन बनाएर चुनावमा आएको भन्दै गठबन्धन नाममात्रैको भएको टिप्पणी गरे ।