संसद अवरोध हटाउने र एमसीसी सम्झौताबारे निष्कर्षमा नपुगी सकियो सर्वदलीय बैठक

काठमाडौं । संसद अवरोध हटाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक विना निश्कर्ष सकिएको छ ।

सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आइतबारको सर्वदलीय बैठकमा सबै राजनीतिक दलहरुले आआफ्नो धारणा राखेको र यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको छ ।
सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालका अनुसार उनी, राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि संशोधनविना अगाडि बढाउन नसकिने धारणा राखेका थिए ।

जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले सम्झौता पारित हुनुपर्ने पक्षमा धारणा राखेका नेता सुवालले बताए । सरकारका प्रवक्ता मन्त्री कार्कीले केही राजनीतिक दलले एमसीसी सम्झौताप्रति आशंका व्यक्त गरेकाले सबै विषयमा छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्ने बताए ।

‘एमसीसीको बारेमा कसरी अगाडि बढाउने भन्ने बारेमा सबै दलले आआफ्नो विचार राख्नुभएको छ । कसैले आशंका व्यक्त गर्नुभएको छ । ती सबै कुरामा फेरि छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्छ’ उनले भने ।