गठबन्धन अबसरबादीहरुको झुण्ड हो : बादल

सुर्खेत । गठबन्धन अवसरबादीहरुको झुण्ड रहेको नेकपा एमालेका उपाध्यक्ष राम बहार थापाले बताएका छन् । स्थानीय तह निर्वाचनको तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखिकरणको कर्णाली प्रदेश स्तरीय कार्यक्रमको शनिबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले अवसरवादीहरूको गठबन्धन छ’ उनले भने “अवसरवादीहरूको गठबन्धनले देशलाई अप्ठेरोतिर धकेलिरहेको छ ।”

उपाध्यक्ष थापाले एमसीसी परियोजना संसदबाट पारित गर्ने बिषयले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुबिकरण हुने बताए ।

एमालेले कार्बाही गरेर १४ जना सांसदहरूलाई नहटाएसम्म संसदिय प्रक्रियामा एमाले सहभागी नहुने अडान कायमै रहेको उनले स्पष्ट पारे । कारबाही गरेका सांसद हटाउनु पर्ने माग पूरा नभएसम्म एमसीसीका बारेमा एमालेले नसोच्ने थापाले दोहोर्याए । उनले अहिलेको सत्ता गठबन्धनलाई प्रतिक्रयावादी र अवसरवादीहरू गठबन्धनको संज्ञा दिएका छन् ।

नेकपा एमालेको नेतृत्वमा मात्र समृद्धि संभव रहेको भन्दै निर्वाचनमा बहुमत ल्याउनेगरी निर्वाचनको तयारीमा लाग्न उनले निर्देशन दिएका छन् ।
नेकपा एमालेको उपमहासचिव प्रदिप ज्ञवाली समेत कार्यक्रममा सहभागी भएका थिए ।