प्रधानमन्त्रीको अमेरिका भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो ? : ज्ञवाली

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् ।

आज आइतवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारूढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेको उल्लेख गर्दै यस सम्बन्धमा संसदमा जानकारी गराउन माग गरेका हुन् । उनले प्रधानमन्त्रीको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो त्यो विषय संसदमा जानकारी गराउनुपर्ने बताए ।

उनले भने, ‘सत्तापक्षको एउटा घटकको प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउने विषय सामान्य विषय होइन । प्रधानमन्त्रीको तर्फबाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । भ्रमण राजकीय हो कि ? आधिकारिक हो कि ? सद्भावना मात्रै हो कि ? कुनै अफिसियल या कुनै बिजनेस लाइक हो कि ? त्यस सम्बन्धमा हामीलाई जानकारी छैन । छलफलका विषयहरू के हुन् ? त्यहाँ कुनै समझदारीहरू हुँदैछन् ? हुँदैछन् भने के विषयमा हुँदैछन् ? यस विषयमा प्रमुख प्रतिपक्ष बिलकुल बेखबर छ । प्रमुख प्रतिपक्षलाई यस सम्बन्धमा कुनै जानकारी गराइएको छैन । यो विषय पनि मैले सदनमा रेकर्ड गराउन चाहन्छु ।’

सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुन लागेको हो कि रक्षा मन्त्रीको हैसियतमा हुन लागेको हो भन्ने पनि स्पष्ट पार्नुपर्ने बताए ।