पर्यटन क्षेत्रले नेपालको समग्र उत्थानका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यसले अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ । मुख्यत ः पर्यटनका लागि सुरक्षा ग्यारेन्टीका साथै गुणस्तरीय सेवा आवश्यक पर्छ । घुमफिरमा आउनेहरूलाई सत्कार तथा पर्यटकमैत्री वातावरण चाहिन्छ । त्यसका लागि पर्यटन पूर्वाधारमा लगानी गर्नुपर्छ । प्राकृतिक र कलात्मक गन्तव्य हाम्रोमा धेरै छन्, यिनको सरसफाइमा ध्यान दिनुपर्छ । एकपटक घुमेर फर्केकाहरू दोहो¥याई–तेह¥याई आउने वातावरण बनाउनुपर्छ । डेढ वर्षयता कोभिड महामारीका कारण शिथिल भएको पर्यटन क्षेत्रमा ज्यान फुक्न पनि हामी पहिलेभन्दा बढी पाहुनामैत्री नभई हुन्न ।
अन्य देशमा अर्थव्यवस्थालाई मजबुत बनाउने दिगो तरिका हो— पर्यटन क्षेत्रको विकास । हाम्रोमा पनि व्यवसायीहरू लागिपरेर पर्यटन क्षेत्रको प्रबन्धन गर्ने हो भने, यो नागरिकको आम्दानीको जग तथा राष्ट्र निर्माणको मेरुदण्ड हुनेछ ।
पर्यटनले राजस्व बढाउँछ, रोजगारीका अवसरहरू सृजना गर्छ, देशको पूर्वाधार विकास–विस्तारसँगै विदेशी मुद्रा भित्राउने मौका दिन्छ । विदेशी पर्यटक तथा नेपाली नागरिकबीच सांस्कृतिक आदानप्रदानको वातावरण पनि बनाउँछ । काठमाडौं उपत्यकाभित्रका दरबार क्षेत्र, पोखरा, चितवन, लुम्बिनी, बर्दिया, सगरमाथा र अन्नपूर्ण क्षेत्र चिनिएका पर्यटकीय स्थल हुन् । हाम्रोमा पर्यटकीय लाभको दृष्टिकोणले पर्वतारोहण प्रमुख स्थानमा पर्छ । नेपालले यीसहित अब नयाँ पर्यटन क्षेत्रको विकास गरी प्रचार–प्रसार गर्नुपर्छ ।
पर्यटन क्षेत्रमा पूर्वाधार विकास भइरहेकै बेला कोभिड महामारीले नराम्ररी प्रभावित पा¥यो, जसको क्षतिपूर्ति छिटै सम्भव छैन । तैपनि आर्थिक क्षेत्रको पुनरुत्थानका लागि महामारीको असरलाई ध्यान दिँदै थप योजना ल्याउनु आवश्यक छ । पछिल्लो डेढ वर्ष निकै कहालीलाग्दो थियो, विश्वभरिका मानिसको दैनिकीलाई कोभिडले असर ग¥यो, गरिरहेकै छ पनि । कोभिड महामारीका कारण पर्यटन व्यवसायीको आम्दानी रोकियो, धेरैले ऋणको भारमा थिचिनुप¥यो । सँगै रोगको डर त छँदै छ । अझै पनि होटल–रेस्टुराँ, पदयात्रा सञ्चालन गर्ने व्यवसायी संकटमै छन् ।
पर्यटन क्षेत्रलाई सुरक्षित र गुणस्तरीय बनाएर नेपाललाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य पन्ध्रौं पञ्चवर्षीय योजना (२०१९–२०२३) ले लिएको थियो, छ । २०१९ को सुरुवातमा नेपाल आउने पर्यटकमध्ये निकुञ्ज र आरक्षण क्षेत्र घुम्ने ४ लाख २९ हजार, लुम्बिनी भ्रमण गर्ने १ लाख ७३ हजार र ट्रेकिङ र माउन्टेनियरिङ गर्ने १ लाख ७९ हजार थिए । पशुपति दर्शन गर्न १ लाख ७३ हजार आएका थिए । ९ लाख ९५ हजार पर्यटक त जहाज चढेरै नेपाल आएका थिए ।
कोभिड सुरु हुनुपहिला ७ लाख ७८ हजार पर्यटक बिदा मनाउन नेपाल भित्रेका थिए, जसमा निःशुल्क प्रवेशाज्ञा पाउने देशबाट धेरै थिए । भारत, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाका लागि ३० दिने निःशुल्क प्रवेशाज्ञा दिने सरकारी नियम छ । चिनियाँ पर्यटकले भने एक वर्षमा ९० दिनसम्म निःशुल्क प्रवेशाज्ञा पाउँछन् । पर्यटन क्षेत्रको विकास तथा विस्तार गरी नेपालीलाई सम्पन्नताको सिँढी चढाउन पूर्वाधारमा ध्यान दिनैपर्छ ।
पर्यटन क्षेत्रले अहिले बेहोरिरहेको समस्या कोभिडले पारेको शिथिलता नै हो । यस महामारीको अन्त्य कहिले हुन्छ, थाहा छैन । यद्यपि व्यवसायलाई बिस्तारै पुरानो लयमा फर्काउन कोभिड विरुद्घको खोपको प्रबन्ध सबैभन्दा महत्वपूर्ण विषय हो । यसका लागि सरकारले आफ्नो दायित्व पूरा गरिरहेको पनि छ । अर्को, व्यवसायीलाई कर तथा नवीकरण दस्तुरमा छुट अथवा समयावधि थप, विद्युत् महसुलमा छुट, न्यूनतम ब्याजदरमा ऋणप्रवाहजस्ता विषयलाई समेट्दा व्यवसायीलाई ‘बीसको उन्नाइस’ नै भए पनि राहत महसुस हुन्छ ।
पर्यटन क्षेत्र देशको पुँजी हो । प्रकृति, संस्कृति र सम्पदा नेपालका असीम पर्यटकीय उपहार हुन् । यस क्षेत्रलाई गरिबी निवारणसँग जोड्नुपर्छ । सहर केन्द्रितभन्दा पनि गाउँका रमणीय दृश्य अवलोकन गराउन नयाँ पदमार्ग, सुरक्षित बासस्थान, स्वस्थ पिउने पानी, अर्गानिक खानाको प्रबन्ध हुनु जरुरी छ । पर्यटकलाई कर्णाली पु¥याउन सक्ने वातावरण बनायौं भने त्यहाँका संस्कृति र खाना विश्वभरि लोकप्रिय हुन सक्छन । यी क्षेत्र प्राकृतिक रूपमा पनि साह्रै मनमोहक छन्, जसको प्रचार–प्रसार व्यापक रूपमा गर्न सके नेपालको पर्यटन क्षेत्रको विकासले थप गति लिने थियो ।
सरकारले तत्काल कोभिडबाट पर्यटन व्यवसायीलाई बचाउने नीति लिनुपर्छ अनि दीर्घकालीन रूपमा यस क्षेत्रको विकासका लागि पूर्वाधार बनाउनुपर्छ । पर्यटन व्यवसायमा आबद्घ कम्पनी र व्यवसायीले पनि आफ्नो कामलाई ‘स्वार्थ कम, सेवा बढी’ ठान्नुपर्छ । सबैले यो क्षेत्रको विकास गर्न होस्टेमा हैंसे गर्नैपर्छ । अनि मात्र नेपालको उन्नति पथमा पर्यटन व्यवसाय मेरुदण्ड बन्न सक्छ ।
साभारः कान्तिपुर
फरकबाटो २३ आश्विन २०७८, शनिबार १५:१९