नेतृत्वमा अब्बल, जनताको भरोसामा सफल

 सुर्खेत । मोहनमाया ढकाल (भण्डारी) वीरेन्द्रनगर नगरपालिका सुर्खेतको प्रमुख हुन् । वीरेन्द्रनगर नगरपालिकामा २०३३ साल यता १० जना प्रमुख (मेयर) भए, तीमध्ये महिलामा उनी नै पहिलो हुन् । २०७९ को स्थानीय तह निर्वाचनबाट महिला मेयरमा निर्वाचित हुने उनी कर्णाली प्रदेशकै एक्लो महिला हुन् ।

२०३६ साल चैत्र २७ गते तत्कालिन सुर्खेतको गर्पन गाविस (हालको वीरेन्द्रनगर १६) मा जन्मिएकी उनको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । विद्यार्थी राजनीतिमा पनि उनी प्रायः एक्लो महिला लिडर नै हुन्थिन् । पिछडिएको वर्ग र समुदायको संधै आवाज बन्न रुचाउने उनले पदमा भएका बेला गरेका कामले आफ्नो रुचीलाई सिद्ध गरेकी छन् । २०७४ सालको निर्वाचनमा उनी नगर उपप्रमुख थिइन् । त्यो समयमा गरेका राम्रा कामकै परिणाम आज उनी कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाको मेयर छन् । कोरोना कालमा नागरिकहरुको सुरक्षाका लागि उनले देखाएको साहस कम महत्वपूर्ण थिएन ।

नगरका बेरोजगार तथा हिंसापीडित महिलाहरुलाई आर्थिक उपार्जनका लागि व्यवसायिक योजनामा सहभागिता, महिलाहरुका लागि विशेष स्वास्थ्यका कार्यक्रम, जेष्ठ नागरिक, दलित, यौनिक तथा लैगिंक अल्पसंख्यक, एकल महिला, अपांगता भएका व्यक्तिहरुका लागि सीप तथा क्षमतामुलक कार्यक्रमसँगै आवश्यक कानून समेत निर्माणमा ढकालको महत्वपूर्ण भुमिका छ ।

अघिल्लो कार्यकालमा उप–प्रमुख हुँदा महिला, दलित, जनजाति, बालबालिका, अपांगता भएकाहरुका लागि थुप्रै काम गरिन् । जसका कारण वीरेन्द्रनगरले छोरीका लागि गौरवको शहरका रुपमा आफ्नो पृथक पहिचान बनाएको छ । सामाजिक क्षेत्र अन्तर्गत सीमान्तकृत समुदायहरुका लागि मात्रै होइन ढकाल नेतृत्वको नगरले भौतिक पुर्वाधार विकासमा समेत राम्रै फड्को मारेको छ । सडकको स्तरोन्नति, फोहोर व्यवस्थापन, बजार व्यवस्थापन, फुटपाथ व्यवस्थापन, पार्क तथा सार्वजनिक क्षेत्र व्यवस्थापन, नगर सौन्दर्यकरण लगायतमा देखिने गरी काम भएका छन् । आज वीरेन्द्रनगरको भौतिक विकासले चौतर्फी वाहीवाही बटुलेको छ ।

एउटा महिलाले घरलाई जसरी व्यवस्थित बनाउँछिन् त्यसैगरी मोहनमायाको नेतृत्वले पनि नगरलाई व्यवस्थित बनाउँदै लगेको छ । विकास निर्माणका काममा मात्रै होइन नागरिकहरुका गुनासा समेत ढकालले सहजै सुन्छिन् जसले उनलाई थप लोकप्रिय बनाएको छ ।

यमुना नेपाली २०७९ को स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगरमा दोहोरिएकी कार्यपालिका सदस्य हुन् । उनी २०७४ मा पनि कार्यपालिका सदस्य थिइन् । दलित समुदायको मात्रै नभई अन्य समुदायका लागि पनि अब्बल नेतृत्व गर्न सक्ने उनी वडा नं १२ बाट सदस्यमा दोहोरिन प¥यो । उपप्रमुखको दाबेदार समेत रहेकी उनले वडा सदस्य भएपछि दोस्रो पटक पनि कार्यपालिकामा स्थान पाइन् त्यो अवसर यमुनाको लगनशिलता र क्षमताको उपज हो । पहिलो कार्यकालमा सामाजिक विकास समितिको संयोजक भएर काम गरेकी यमुना हाल विद्यायन समितिको संयोजक छिन् । अधिकांश नागरिकहरु समस्यामा यमुनालाई नै खोज्छन् कारण उनले समस्या पर्दा सजिलै समस्या समाधानको बाटो देखाउँछिन् । जुनसुकै पदमा भएपनि नागरिकहरुले सहज सेवा पाउनुपर्छ भन्ने कुरामा यमुनाको सँधै अडान रहन्छ ।

टिका घले २०७९ को निर्वाचनबाट दोहोरिएकी कार्यपालिका सदस्य हुन् । वडा नं ४ बाट २०७४ सालको निर्वाचनमा सदस्य जितेर कार्यपालिका प्रवेश पाएकी उनले दोस्रोपटक पनि कार्यपालिकामा स्थान पाइन् । हाल उनी सामाजिक विकास समितिको संयोजक भएर काम गरेकी छन् । वडा अध्यक्षको दाबेदार रहेकी उनले राजनीतिक भागबण्डा र पार्टीको निर्देशनलाई मानेर वडा सदस्यमै चित्त बुझाउन प¥र्यो । दोस्रो पटक आँफुले मागेको पद नपाए सदस्यमा नआउने मनसाय बोकेकी उनलाई नागरिकले नै नेतृत्वमा आउन बाध्य बनाए । काम गर्नलाई पद भन्दा पनि मन हुनुपर्ने धारणा राख्ने घलेले आगामी निर्वाचनमा भने वडा अध्यक्ष नै हुने अडान लिएकी छन् ।

वीरेन्द्रनगरका  सरिता चौधरीको पनि कार्यपालिकामा दोहोरिएकाे अनुहार हो । त्यस्तै वडा सदस्यहरुमा चन्द्रा नेपाली, कमला नेपाली, तृप्तीकुमारी विक समेत दोहोरिएका नेतृ हुन् । पदमा पुगेर पनि महिलाहरुले केही गर्न सक्दैनन् भन्ने भाष्य वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि महिलाहरुले तोडेका छन् । विषयगत समितिहरु हाँक्ने पुरुषहरु पनि वीरेन्द्रनगरमा नभएका होइनन् तर कामको गति र लगनशिलता हेरेर वीरेन्द्रनगर नगरकार्यपालिकाले सामाजिक विकास समिति र विधायन समितिको संयोजकमा महिलाहरुलाई नै विश्वास गरेको छ । जसले सीमान्तकृत समुदाय र वर्गका लागि राम्रो काम गर्न सकेको छ ।
नगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरका जनप्रतिनिधि महिलाहरु अब्बल रहेको र आफूलाई पनि काम गर्न सहज भएको बताउँछिन् । नगरको पुर्वाधार विकाससंगै सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गर्दैै आएको उनको भनाई छ । कार्यपालिका सदस्य यमुना नेपाली नगर प्रमुख महिला नै हुँदा विषयगत समितिका काममा समेत थप सहयोग र सहजीकरण हुने गरेको अनुभव सुनाउँछिन् । “पहिले उहाँ उपप्रमुख हुँदा पनि हामीहरुले सामाजिक क्षेत्रमा राम्रो काम गरेका थियौँ, अहिले उहाँ मेयर हुँदा पुराना कामहरुलाई अगाडि बढाउन पनि सजिलो भएको छ” उनी भन्छिन्, महिलालाई नेताको रुपमा नलिने समाजमा आफूहरुले गरेको कामकै कारण जनताले विश्वास गर्ने वातावरण बनेको हो ।” अर्को कार्यपालिका सदस्य टीका घलेको भनाई पनि उस्तै छ । उनी भन्छिन्, महिलाहरुले काम गर्न सक्दैनन् भन्ने भाष्य गलत भएको र पद पाएसम्म उत्कृष्ट नतिजा आउने गरि काम गर्न सकिन्छ ।”

अर्थपूर्ण सहभागितामा अब्बल

वीरेन्द्रनगर नगर कार्यपालिकामा प्रमुखसहित सात महिला नेतृ छन् । संख्याको हिसाबले थोरै करिब २६ प्रतिशत महिलाहरुले कार्यपालिकामा स्थान पाएपनि काम र प्रतिफलका हिसाबले वीरेन्द्रनगरले सकारात्मक सन्देश दिने ठाउँ छ । राजनीतिक दलहरुले महिलालाई प्रत्यक्ष निर्वाचनमा सितिमिति टिकट दिँदैनन् । महिलाले टिकट पाउनै मुस्किल, पाइहाले जित्न । तर वीरेन्द्रनगरमा भने नागरिकहरुको मन जितेको छ, महिला नेतृत्वले ।

वीरेन्द्रनगरमा दलित महिला केन्द्र नेपालद्धारा सञ्चालित दलित महिला तथा महिला वडा सदस्यहरुको क्षमता विकासमा निरन्तर मेन्टरसिप कार्यक्रमले सञ्चालन गर्दै आएको छ । कार्यक्रमकी फिल्ड अफिसर धर्मा सुवेदीले जनप्रतिनिधि महिलाका लागि भाषणकला, नेतृत्व विकास, राजनीतिक ज्ञान, योजना निर्माण लगायतका विषयमा क्षमता विकास कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको बताउँछिन् । ‘जसको सवाल उसैको नेतृत्व जरुरी हुन्छ, जनप्रतिनिधि महिलाले महिला, बालबालिका, पिछडिएका वर्ग समुदायको सवालमा राम्रो काम गरिरहनुभएको छ, उनी भन्छिन्, क्षमता विकाससम्बन्धी तालिमहरुले गर्दा उहाँहरुमा ज्ञान, सीप बढेको छ, जनप्रतिनिधि महिला आफै पनि सक्षम बन्नुभएको छ ।’

संवैधानिक व्यवस्था बमोजिम राजनीतिमा महिलाहरुको सहभागिता भएपनि कतिपय सन्दर्भमा अर्थपूर्ण छैन । तर वीरेन्द्रनगर नगरपालिकाको हकमा भने निर्वाचित जनप्रतिनिधि महिलाहरुको अर्थपूर्ण सहभागिता रहेको छ । राजनीतिक दलले महिलाहरुलाई विश्वास गरेर निर्वाचनमा पठाएमात्रै महिलाहरुले जित्न सक्ने र जितेपछि पनि देखिने गरी काम गर्न सक्छन् भन्ने उदाहरण वीरेन्द्रनगरका जनप्रतिनिधि महिलाहरु बनेका छन् ।