अमेरिकामा डढेलोमा परि ज्यान गुमाउनेको सङ्ख्या ६७ पुग्यो

सुर्खेत । अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुगेको छ । हवाईको माउइ टापु लाहैनामा फैलिएको डढेलोमा उनीहरुले ज्यान गुमाएका हुन् । केही घाइते भएका छन् । त्यहाँ अरु केही मानिस हराइरहेका अनुमान छ । हजारौँ नागरिक विस्थापित भएका छन् । उनीहरुलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । माउइ पर्यटकीय टापु मानिन्छ ।

मङ्गलवारदेखि शुरु भएको डढेलो निक्कै फैलिएको छ । हवाई राज्यलाई विपदग्रस्त क्षेत्र घोषणा गरिएको छ । प्रभावित क्षेत्र लाहैनामा २ सय ७० भन्दा बढी संरचना ध्वस्त भएका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

माउइ टापुसहित हवाईको ठूलो भू–भागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो । हवाई राज्यको इतिहासमा यो सबैभन्दा खराब प्राकृतिक प्रकोप मानिएको छ । क्षतिग्रस्त सहरमा क्षतिको विवरण लिन हिजो छोटो समयका लागि घर फर्कन प्रभावितलाई अनुमति दिइएको थियो । माउइ टापुमा लागेको डढेलोबाट भएको क्षतिलाई पुनर्निर्माण गर्न धेरै वर्ष लाग्ने हवाईका गभर्नर जोस ग्रीनले बताएका छन् ।